असार १८, २०८३ बिहिबार

काठमाडौँ, १८ असारः आमसञ्चारमाध्यमले सामाजिक उत्तरदायित्वको रुपमा समावेशी मुद्दालाई प्राथमिकताका साथ स्थान दिनुपर्नेमा अधिकारकर्मी र सञ्चारकर्मीको जोड छ ।

    सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा एकता फाउण्डेशनद्वारा यहाँ आज आयोजित ‘समावेशी पत्रकारिताः सीप, क्षमता र सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकारकर्मी र सञ्चारकर्मीले समावेशी पत्रकारिताको आवश्यकता औँल्याउनुभएको हो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले समावेशी पत्रकारितामा भौतिक उपस्थिति मात्रै नभई समानताका पक्षमा प्राथमिकता दिने सम्पादकीय दृष्टिसमेत आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय पत्रकारिताको सामाजिक उत्तरदायित्व नै कमजोर हुँदै गएको अवस्था चित्रण गर्दै सिमान्तकृत दलित, महिला, जनजाति, लैङ्गिक अल्पसङ्ख्यकलगायत समुदायको आवाज नै आमसञ्चार हुनुपर्ने धारणा राख्नुभयो । 

    “मिडिया समाज रुपान्तरणको आधार हो”, उपाध्यक्ष पण्डितले भन्नुभयो, “आवाजविहीनको आवाज बन्नुपर्छ, त्यो मिडियाको कर्तव्य हो ।”

    त्यस्तै, लेखक एवं अधिकारकर्मी जेबी विश्वकर्माले समावेशी पत्रकारिताको आवश्यकता र महत्वका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले आमसञ्चारमाध्यमले समाजका पिँधमा परेका समुदायको आवाज उठाउँदा अब परम्परागत शैली फेरेर प्रभावकारी र रचनात्मक शैली अपनाउनुपर्ने बताउनुभयो । 

    एकता फाउण्डेशनका अध्यक्ष रामहरि शाही समुन्द्रीले समावेशी मुद्दा कुनै निश्चित समुदायको मात्रै नभई समग्र सभ्य राष्ट्र निर्माणको आधार रहेको बताउनुभयो । यसका लागि मिडियाले समाज रुपान्तरणको मिसन पत्रकारिताका रुपमा समावेशी विषयमा समाचार सम्प्रेषणमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
–––