कात्तिक १२, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आइपिओ आज (शुक्रवार) बिहान ९ बजे बाँडफाँट हुने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीले असोज २० गतेदेखि २५ गतेसम्म ९० लाख कित्ता आइपिओ निष्कासन गरेको थियो ।
कम्पनीले कुल शेयरमध्ये ३ लाख ६० हजार कर्मचारीहरूका लागि ४ लाख, ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
उक्त आइपिओमा अन्तिम दिनसम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो आवेदन सर्वसाधारणलाई निष्कासन गरेको मागभन्दा ४ दशमलव १९ गुणा बढी आवेदन हो ।
मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ । यस आधारमा ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् । बाँकी १५ लाख ७४ हजार ४२८ जना आवेदकको हात खाली हुने देखिन्छ ।