असार २१, २०८३ आइतबार

मान्म (कालीकोट), २१ असारः कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले जोखिममा परेका बालबालिकालाई बाल हित कोषमार्फत खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको हो ।
  
नगरपालिकाको बाल हित कोषमार्फत विपन्न, असहाय तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकालाई राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाभित्रका जोखिममा परेका ११५ बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेको नगरप्रमुख शङ्करप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । नागरिकको दुःख र अप्ठ्यारोमा स्थानीय सरकार सधैँ साथमा रहनेछ । आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको नगर उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो । “आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न जोखिममा परेका बालबालिकालाई संरक्षण र सहयोग गर्नु सबैको साझा दायित्व हो”, उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले बालबालिकाको मनोबल बढाउनुका साथै उनीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्नेछ ।”

नगरपालिकाका अनुसार बाल हित कोषमार्फत आगामी दिनमा आवश्यकतामा रहेका बालबालिका तथा विपन्न परिवारलाई लक्षित गरी विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।