कात्तिक १३, २०७८ शनिबार

आईसीसी टी–२० विश्व कप अन्तर्गत 'सुपर १२' को खेलमा आज शुक्रवार भएको पहिलो खेलमा वेस्ट इन्डिजले बङ्गलादेशलाई तीन रनले हराएको छ । 

वेस्ट इन्डिजले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो । बङ्गलादेशका लागि लिटन दासले ४४ र कप्तान महमदुल्लाहले अविजित ३१ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रवि रामपल, जेसन होल्डर, आन्द्रे रसेल, अकेल हुसेनन र ड्वेन ब्राभोले एकरएक विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर एक सय ४२ रन बनायो । वेस्ट इन्डिजका लागि निकोलस पूरनले ४० र रोस्टन चेसले ३९ रन बनाए । बलिङतर्फ बङ्गलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले दुईरदुई विकेट लिए ।    

आजको खेल जितेसँगै वेस्ट इन्डिज सेमिफाइनलमा जाने सम्भावना कायम छ । यसअघिका दुई खेल हारेको बङ्गलादेश दुई अङ्कसहित अङ्क तालिकाको पाँचौँ स्थानमा छ । बङ्गलादेशले भने लगातार तीन खेलमा हार बेहोरेको छ ।