कात्तिक १३, २०७८ शनिबार

आउँदो कात्तिक २९ गतेदेखि आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लब खेल्ने भएका छन् । 

ललितपुरमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा आज शुक्रवार भएको तालिका सार्वजनिक कार्यक्रमबाट फ्रेन्ड्स र सातदोबाटोबीच उद्घाटन खेल हुने टुङ्गो लागेको हो । उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा कात्तिक २९ गते बेलुकी ५ बजे हुनेछ ।

पहिलो चरणका अन्य खेल दशरथ रङ्गशाला र एन्फा दुवै मैदानमा हुने आयोजक एन्फाले जानकारी दियो । दिउँसो १२ बजेको खेल एन्फा कम्प्लेक्समा हुनेछन् भने दिउँसो ३ बजेको खेल दशरथ रङ्गशालामा हुने आयोजकले जनाएको छ । 

लिगको तेस्रो चरणपछिका खेल नयाँ मैदान च्यासलमा रहेको टेक्निकल सेन्टर र मनाङका केही खेल पोखरा रङ्गशालामा हुन सक्ने एन्फाले जनाएको छ ।

एन्फाले अहिलेलाई सुरुवाती दुई चरणको मात्र खेल तालिका सार्वजनिक गरेको छ । त्यसपछिको तालिका सार्वजनिक भए पनि खेल स्थल भने तोकिएको छैन ।

फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदै छन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।

लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले गोल्डेन बल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले गोल्डेन बुट तथा उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स प्राप्त गर्नेछन् । यस्तै उदीयमान खेलाडीले नगद पुरस्कार पनि प्राप्त गर्नेछन् ।