असार २२, २०८३ सोमबार

काठमाडौँ, २२ असार :  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणकर भट्टले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वास्तविक किसानको बीचमा पुगेर प्रभावकारी रूपमा काम गरिरहेको संस्थाका रूपमा साना किसान विकास लघुवित्तले आफूलाई स्थापित गरेको बताउँदै यसको क्षमता र प्रभावलाई अझ विस्तार गर्न विशिष्टीकृत संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

    उपाध्यक्ष भट्टले ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि विस्तार, गरिबी न्यूनीकरण तथा साना किसानको आर्थिक सशक्तीकरणमा संस्थाले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै साना किसानको उत्थानबाट मात्रै देशमा दिगो आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव हुने बताउनुभयो । उहाँले सरकारले यस दिशामा विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी दिँदै साना किसानलाई निर्धक्क भएर उत्पादन र उद्यममा लाग्न आग्रह गर्नुभयो ।

    उहाँका अनुसार वर्तमान सरकार सरकारी, निजी र सहकारी क्षेत्रबीच सहकार्यलाई सुदृढ बनाउँदै संस्थागत दिगोपन र आर्थिक सुदृढीकरणका कार्यक्रम अघि बढाइरहेको छ । यसै सन्दर्भमा सरकार सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने दिशामा अगाडि बढिरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

    कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले सरकारका आर्थिक तथा सामाजिक रूपान्तरणका अभियानमा साना किसान अभियान निरन्तर सहकार्य गर्दै आएको बताउनुभयो।आगामी दिनमा पनि अभियानमा आबद्ध संस्था तथा सदस्यहरू सरकारका विकास कार्यक्रम कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने उहाँको भनाइ थियो ।

    संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले संस्थाको आर्थिक अवस्था, व्यवसाय विस्तार तथा भावी योजनाबारे जानकारी गराउनुभएको थियो।