असार २३, २०८३ मंगलबार

काठमाडौँ, २३ असारः  आकर्षक वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले विभिन्न व्यक्तिबाट रु २४ लाख ४५ हजार बराबरको ठगी गरेको आरोप लागेको छ । 

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा लमजुङका पूर्णबहादुर दुरा, दोलखाका कमला खत्री र रामकुमार श्रेष्ठ  सुर्खेतका सरस्वती गिरी छन् । 

    कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरुले युरोपका विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोप लागेको छ । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

    वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाप्रति सचेत रहन र आधिकारिक प्रक्रिया तथा स्वीकृत म्यानपावर कम्पनीमार्फत मात्र विदेश जान प्रहरीले आग्रह गरेको छ ।