असार २३, २०८३ मंगलबार

कोन्ज्योसोम (ललितपुर), २३ असारः सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पूर्वसूचना प्रणालीको विकास र अभिभावक सचेतना विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।

    ‘युवालय’को आयोजनामा जिल्लाको कोन्ज्योसोम गाउँपालिका–४ नल्लुस्थित गुप्तेश्वर माध्यमिक विद्यालय र  वडा नं ५ भारदेउस्थित बालेश्वरी माध्यमिक विद्यालयमा अभिभावक सचेतनाका साथै विद्यालयमा गुणस्तर सुधार र विद्यार्थी टिकाउका लागि विद्यालय, शिक्षक र अभिभावकको उत्तिकै भूमिका रहनेमा जोड दिइएको हो । 

    अनुसन्धानकर्ता सञ्जीव अधिकारीले अवधारणापत्र प्रस्तुत गर्दै विसं २०७२ मा कक्षा १ मा भर्ना भएकामध्ये २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ६९ प्रतिशत विद्यार्थी मात्रै सहभागी हुनुले विद्यार्थी बीचमै कक्षा छाड्ने प्रवृत्ति कायमै रहेको बताउनुभयो । 

    उहाँले यसरी कक्षा छाडिनुलाई शैक्षिक विपद्को संज्ञा दिँदै पूर्वसूचना प्रणाली अपनाएर कुन विद्यार्थी कसरी पढिरहेका छन् या छैनन् भन्ने अनुगमन गर्न सुझाउनुभयो । 

    स्थानीय जनप्रतिनिधिसमेत सहभागी कार्यक्रममा बालेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण श्रेष्ठ, प्रधानाध्यापक प्रेमप्रकाश भट्टराईलगायतले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    गुप्तेश्वर माविका सहायक प्रधानाध्यापक दीपकप्रसाद तिमिल्सिनाले विद्यालयमा समयसापेक्ष सुधारका लागि यस्ता कार्यक्रम सहयोगी भएको बताउनुभयो ।

    ‘युवालय’का कार्यक्रम संयोजक अविनाश कार्कीले गाउँपालिकाको अनुमतिमा कोन्ज्योसोमका आठ सामुदायिक विद्यालयमा बालमैत्री शिक्षा, बाल क्लब सञ्चालनमा सहजीकरण, अभिभावक सचेतनालगायत कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।