इंग्ल्याण्डले यूएईमा जारी टी–२० विश्वकपमा लगातार तेस्रो जित निकालेको छ। शनिबार राति दुबई भएका सुपर–१२ अन्तर्गतको खेलमा अष्टेलियालाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले तेस्रो जित हात पारेको हो।
यससँगै अंक तालिकामा ६ अंक जोड्दै समूह–१ मा रहेको इंग्ल्याण्डले सेमिफाइनल यात्रा लगभग पक्का गरेको छ। अष्टेलियाले दिएको १ सय २६ रनको लक्ष्य इंग्ल्याण्डले ११.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो।
उसका लागि ओपनर जोस बटलरले शानदार ब्याटिङ गरे। उनले ३२ बलमा ५ छक्का र ५ चौकासहित अविजित ७१ रनको योगदान दिए। यस्तै, जेसन रोयले २२, जोनी बेयरस्टोले नटआउट १६ र डेविड मलानले ८ रन बनाए। बलिङमा एडम जम्पा र एस्टन आगरले १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्टेलियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनाएको थियो। उसका लागि कप्तान आरोन फिन्च ४४, एस्टन आगरले २०, म्याथ्यू वेडले १८, मिचेल स्टार्कले १३ र प्याट कमिन्सले १२ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
इंग्ल्याण्डका लागि क्रिस जोर्डनले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा १७ रन खर्चिएर तीन विकेट लिए। यस्तै, क्रिस वोक्स र टिमल मिल्सले २–२ तथा लियाम लिभिङ्स्टोन र आदिल राशिद १–१ विकेट हात पारे।
सुपर–१२ मा अष्टेलियाको यो पहिलो हार हो। अष्टेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो म्याचमा श्रीलंकालाई ७ विकेट हराएको थियो।
अष्टेलिया अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। दोस्रो स्थानमा दक्षिण अफ्रिका छ। उसले शनिबार नै भएको खेलमा श्रीलंकालाई ४ विकेटले पराजित गरेको थियो।