असार २५, २०८३ बिहिबार

काठमाडौँ, २५ असारः प्रतिनिधिसभाका सांसदहरुले सडक दुर्घटना न्यूनीकरण, सर्वसुलभ विशेषज्ञ स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, नदी कटान तथा डुबान नियन्त्रणलगायत समसामियक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
 
    सभाको आजको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डेले सडकको बीच भागमा रहेका बिजुलीको खम्बा नहटाउँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।
 
     नेपाली कांग्रेसका सुशीला ढकाल आचार्यले पछिल्लो तीन दशकमा मुलुकमा ‘केही भएन भन्ने’ र वर्तमान सरकारको एक सय दिनमा मुलुक कायपलट भयो भन्ने दुवै भाष्य गलत भएको बताउनुभयो ।
 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का क्षितिज थेवेले निर्वाचनमा प्राप्त जनादेशअनुसार जनअपेक्षा पूरा गर्न सरकारका प्रयास केन्द्रित हुनुपर्ने बताउनुभयो ।
 
    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका जिल्लामा सडक दुर्घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै सुरक्षित सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिनुभयो ।
 
    श्रम संस्कृति पार्टीका ध्रुवराज राईले पहाडी क्षेत्रमा बाँदरसम्बन्धी समस्याबाट किसान विस्थापित हुनेक्रम बढिरहेको जनाउँदै बाँदर, बँदेलजस्ता जङ्गली जनावर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
    रास्वपाका ताहिर अलि भाटले सरकारी अस्थायी, करार र ज्यालादारी कर्मचारीको समस्या समाधान गर्न सुझाव दिनुभयो । सोही पार्टीका अरबिन्द साहले वर्तमान सरकारले पछिल्लो एक सय दिनमा सुशासन, आर्थिक र प्रशासनिक सुधार, डिजिलट प्रविधिको विस्तार तथा राज्यका आधारभूत संरचना बलियो बनाउने दिशामा प्रगति गरेको बताउनुभयो ।
 
    कांग्रेसका खड्कबहादुर बुढाले जाजरकोट भूकम्पबाट प्रभावित नागरिकको पुनःस्थापनामा ध्यान दिन सरकारसँग माग गर्नुभयो ।
 
    एमाले सांसद रिङ्गला यादवले वर्षौंदेखि भूमि र पहिचानका लागि लड्दै आएका नवलपरासी पश्चिम सुस्ता क्षेत्रका नागरिकको माग तत्काल सम्बोधन गर्न माग गर्नुभयो ।
 
    नेकपाका रमेशकुमार मल्लले नेपालको परराष्ट्र नीतिका आधारका रुपमा रहेका स्वतन्त्रता, असंलग्नता, पञ्चशीलको सिद्धान्त, सार्वभौमिक समानता, पारस्परिक सम्मान र सन्तुलित छिमेकी नीतिलाई सरकारले पूर्णपालना गर्नुपर्ने बताउनुभयो ।
 
    राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती लामाले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई युरोपेली सङ्घको कालोसूचीबाट हटाउन आवश्यक पहल गर्न सरकारलाई सुझाव दिनुभयो ।
 
    रास्वपाका ठाकुरसिंह थारुले बर्दियामा सर्पदंशका बिरामी बढ्दै गइरहेका अवस्थामा बर्दिया अस्पतालमा सघन उपचार कक्ष सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नुभयो ।
 
    सांसद रुक्मिणीदेवी कोइरालाले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमवासी र भूमिहीन नागरिकलाई तत्काल भूमिको स्वामित्वसहित पुनःस्थापित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
    एमालेका ऐनबहादुर महरले छिमेकीसँगको सम्बन्धका विषयमा नेपालको प्रतिबद्धताबारे सरकारको जवाफ माग गर्नुभयो ।
 
    रास्वपाका बिना गुरुङले बेलायती गोर्खा सैनिकका सन्ततिको वंशजको नागरिकतासम्बन्धी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
    रास्वपाका खगेन्द्र सुनारले जेनजी आन्दोलनमा दमन गर्नेमाथि कहिले कारबाही हुन्छ भनी सरकारसँग प्रश्न गर्नुभयो ।
 
    सोही पार्टीका सागर भुसालले बाँदर आतङ्क प्रभावित किसानलाई तत्काल राहत दिन सरकारसँग माग गर्नुभयो । सांसद नरेन्द्र साह कलवारले असार मसान्त नजिकिँदै गर्दा विकास गर्नेभन्दा पनि बजेट सम्पन्न गर्ने प्रवृत्तिले शासन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको जनाउँदै आगामी आर्थिक वर्षदेखि उक्त प्रवृत्ति अन्त्य गर्न सुझाव दिनुभयो ।
 
    रास्वपाका प्रदीप विष्टले काठमाडौँ क्षेत्र नं १० का कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरि नगरपालिकामा पिउने पानीको अभाव भइरहेको जनाउँदै सो क्षेत्रका खानेपानी मुहान संरक्षण गरी न्यायोचित रुपमा पानी वितरण गर्न सरकारको ध्यानाकर्षण गराउनभुयो ।
 
    सोही पार्टीका ज्ञानु पौडेलले सीमा क्षेत्रमा हुनसक्ने लागुऔषधको अवैध ओसारपसारका गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । रास्वपाका राम लामाले बर्सेनि रासायनिक मलको अभाव हुने समस्या सदाका निम्ति समाधान गर्न स्वदेशमै मल उत्पादन कारखाना स्थापना गर्न सरकारलाई सुझाव दिनुभयो ।
 
    रास्वपाका रुकेश रञ्जितले भक्तपुर नगरपालिका–२ मा रहेको देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना तत्काल सम्पन्न गरी स्थानीयलाई राहत दिन माग गर्नुभयो ।
 
    सोही पार्टीका बुद्धरत्न महर्जनले काठमाडौँ उपत्यकालाई तराईसँग जोड्ने वैकल्पिक मार्गका रुपमा रहेको कान्ति लोकपथको मापदण्ड र रुटकाबारेमा नागरिकलाई तत्काल जानकारी दिन आग्रह गर्नुभयो ।
 
    रास्वपाका ललिताकुमारीले चिकित्सा विज्ञानमा शून्य जोखिम नहुने उल्लेख गर्दै चिकित्सकमाथि हुने आक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
 
    सोही पार्टीका ज्ञानेन्द्रसिंह महता कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका केही बस्ती महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण डुबानको उच्च जोखिममा रहेका उल्लेख गर्दै डुबान तथा नदी कटान रोक्ने योजना बनाउन सरकारलाई सुझाव दिनुभयो । 

    सोही पार्टीका राजीव खत्रीले सुदूरपश्चिमका किसानलाई सिँचाइ, लगानी, मलबीउ, प्रविधि हस्तान्तरण गरी राहत दिन माग गर्नुभयो ।
 
    त्यसअघि बैठकमा समय लिएर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेको भन्ने समाचारका सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको थियो ।