काठमाडौँ ; चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा सामाग्रीआयात हुन थालेको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् ।
पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोशाक भित्रिने गरेका हुन् । कोरोना तथा चिनियाँ पक्षको अवरोधका कारण धेरै समय नाका बन्द भएका थिए । “हामीले नाकामा कार्यरत २०० भन्दा बढी कर्मचारीलाई गत महिना नै पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाइसकेका छौँ । नाकामा कार्यरत श्रमिकलाई स्वास्थ्य सुरक्षा अपनाउँदै छुट्टै राखेका छौँ ।
कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा अझै समस्या हुने गरेको छ”, उनले भने, “रसुवा जिल्ला नै दुई महिनायता कोरोना सङ्क्रमणमुक्त हुँदासमेत चिनियाँ पक्षको अवरोध कम भएको छैन । जति प्रयास गरे पनि चिनियाँ पक्षको विश्वास जित्न नसक्दा आयातमा अवरोध हुने गरेको छ ।” कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फीरूपमा सञ्चालनमा आएको हो ।
तातोपानी नाकाबाट पछिल्लो समय रासायनिक मल आयात भएको भन्सार कार्यालयले जनाएको छ । ल्होसारपछि नाका पुनः सञ्चालनमा आएयता दैनिक सात चिनियाँ कन्टेनर नेपाल भित्रिने गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार सात कन्टेनरमध्ये पाँच कन्टेनरमा रासायनिक मल आयात भएको छ ।
लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको हो । नाका पूर्णरूपमा सञ्चालनमा आए पनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।