ढोरपाटन (बागलुङ), २५ असार : बागलुङको ताराखोला गाउँपालिका–४ का अध्यक्ष जीतबहादुर खत्री बिहान उठ्दा बित्तिकै ट्राउट माछा फर्ममा पुग्नुहुन्छ । खत्रीको बिहान माछा फर्मको सरसफाइ र दाना दिँदैमा बित्छ । दिनभर वडा कार्यालय र नागरिकको काममा खटिनुहुने उहाँ साँझ परेपछि माछाकै फर्ममा पुग्नुहुन्छ । ट्राउट माछापालनका लागि सफा पानी चाहिने हुँदा अध्यक्ष खत्रीले बिहान बेलुकाको समय बढी फर्मलाई दिँदै आउनुभएको छ ।
‘ताराखोला बहुउद्देश्यीय रेन्बो ट्राउट फर्म’ खोलेर माछापालन गर्दै आउनु भएका खत्री जनप्रतिनिधिसँगै ताराखोलामा अगुवा कृषकको रुपमा पनि परिचित हुनुहुन्छ । रसुवा पुगेर ट्राउट माछापालनसम्बन्धी तालिम लिएपछि खत्रीले व्यवसाय गर्न थाल्नुभएको हो ।
विसं २०७५ मा चार जनाको समूहले सुरु गरेको ट्राउट फर्म कोरोना महामारीको बेला घाटामा गएको थियो । साझेदारले थप लगानी गर्न तयार नभएपछि परिवारको सहयोगमा खत्री एक्लै सुरु गर्नुभयो । ११ रोपनी क्षेत्रफलमा फैलिएको फर्ममा २२ वटा पोखरी छन् ।
उहाँले अहिले वार्षिक करिब रु १२ लाख आम्दानी हुने गरेको जानकारी दिनुभयो । अहिले आठ वटा पोखरीमा भूरा पनि उत्पादन हुन्छ । अहिले ६०० जति ठूला माछा अण्डा उत्पादनका लागि राखेका छन् । दुई क्वीन्टल जति मात्रै बिक्रीका लागि तयार माछा पोखरीमा रहेको अध्यक्ष खत्रीले बताउनुभयो ।
“भुरा उत्पादनको काम अलि जोखिमपूर्ण छ, ट्राउटमाछा पालनमा पानीको विशेष ध्यान राख्नुपर्छ, पानी धमिलो भयो भने पनि समस्या हुन्छ, भुरालाई डेढ घण्टाको समयमा दाना हाल्नुपर्ने हुन्छ”, अध्यक्ष खत्रीले भन्नुभयो ।
पहिले अण्डा ल्याएर भुरा उत्पादन गरे पनि पछिल्लो समय उहाँले अण्डा पनि यही उत्पादन गर्न सुरु गर्नुभएको छ । पानीका कारण माछाको भुरा मरेर ठूलो नोक्सानी व्यहोर्नुपरेको घटना सुनाउँदै अध्यक्ष खत्रीले ट्राउट माछापालन निकै जोखिमपूर्ण रहेकाले १० मिनेट मात्रै पानी रोकियो भने अक्सिजन कम भएर मर्ने सम्भावना रहने जानकारी दिनुभयो । खत्री लामो समयसम्म ताराखोलाका विद्यालयमा शिक्षकको भूमिकामा रहनुभएका थापा स्थानीय तह निर्वाचन–२०७४ पछि वडाध्यक्ष हुनुहुन्छ ।