रोट्टेरडाम (नेदरल्यान्ड्स), २५ असार : डच अवधारणात्मक कलाकार विम टी. सिप्पर्सको स्मृतिमा उहाँको चर्चित कलाकृति ‘पिन्डाकासभ्लोर’ (बदामको बटर फ्लोर) पुनः नेदरल्यान्ड्सको रोट्टेरडामस्थित म्युजियम बोइजमन्स भ्यान ब्युनिन्जेनमा प्रदर्शनमा राखिएको छ । शुक्रबारदेखि सुरु हुने दुईमहिने प्रदर्शनीका लागि ८०० पाउन्डभन्दा बढी बदामको बटर प्रयोग गरी सङ्ग्रहालयको भुइँमा कलाकृति तयार गरिएको हो ।
त्रियासी वर्षको उमेरमा निधन भएका सिप्पर्सले सन् १९६९ मा पहिलोपटक यो अवधारणात्मक कलाकृति सिर्जना गर्नुभएको थियो । परम्परागत कला अवधारणालाई चुनौती दिने उहाँले काँचका टुक्रा, नुन र अन्य सामग्रीले भुइँ ढाक्ने शृङ्खलाअन्तर्गत यो कृति बनाउनु भएको थियो । उहाँ डच संस्करणको बाल कार्यक्रम ‘सेसमी स्ट्रिट’ मा एर्नी र कर्मिट द फ्रग पात्रलाई स्वर दिनुभएको कलाकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो ।
सन् १९९७ मा युट्रेक्टको सेन्ट्रल म्युजियममा दोस्रोपटक प्रदर्शनीमा राखिएको बेला सिप्पर्सले ‘हामी सबै यहाँ उभिएर बदामको बटर हेरिरहेका छौँ, के यो आफैँमा रोचक होइन र ?’ भन्दै यस कृतिको अवधारणाबारे टिप्पणी गर्नुभएको थियो ।
यसपटक २५ वर्गमिटर क्षेत्रफलमा फैलिएको षट्कोणाकार कलाकृति तयार गर्न सङ्ग्रहालयका दुई कर्मचारीलाई धेरै दिन लागेको थियो । उनीहरूले ड्राईवाल ट्रोवेल प्रयोग गरेर करिब दुई सेन्टिमिटर बाक्लो तहमा बदामको बटर फैलाएका थिए । कलाकारले कृतिको आकार, मोटाइ वा कुन प्रकारको बदामको बटर प्रयोग गर्नुपर्ने भन्ने कुनै निश्चित मापदण्ड तोक्नुभएको थिएन । यस प्रदर्शनीका लागि डच ब्रान्ड क्याल्भेले चिल्लो बदामको बटर उपलब्ध गराएको सङ्ग्रहालयले जनाएको छ ।
खाना विषयक लेखिका तथा फोटोग्राफर मिके वेइसम्यानले सन् १९९७ को प्रदर्शनी सम्झँदै आफूलाई सबैभन्दा बढी सङ्ग्रहालयभर फैलिएको बदामको बटरको सुगन्ध याद रहेको बताउनुभयो ।
यसअघि सन् २०११ मा प्रदर्शनीका क्रममा केही आगन्तुक अनजानमै कलाकृतिमाथि हिँडेका थिए । त्यस्तै सन् १९९७ मा केही व्यक्तिले रोटीका स्लाइस र चकलेट स्प्रिङ्कल्स राखेर कलाकृतिमा हस्तक्षेप गरेका थिए । त्यसबेला पनि सिप्पर्सले त्यसलाई नकारात्मक रूपमा नलिई स्प्रिङ्कल्स अनुपात मिलाएर राखिएको भन्दै सहज प्रतिक्रिया दिनुभएको थियो ।