गत वर्षको तिहारको तुलनामा यस वर्ष ४/५ लाख वटा मालाको माग बढ्ने फ्लोरिकल्चर एसोसिएशन अफ नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनले भने, ‘तिहारमा २० करोड रुपैयाँ हाराहारीमा माला खपत हुने अनुमान गरेका छौँ ।’
गत वर्ष कोभिड–१९ महामारीका कारण तिहारमा जम्माजम्मी १३/१४ लाखवटा माला बिकेका थिए । तामाङले गत वर्षको तिहारमा १० देखि १२ करोड रुपैयाँका माला बिकेको तथ्याङ्क सङ्कलन भएको बताए । उनले यस वर्षको तिहारमा १८/१९ लाखवटा माला खरिद/बिक्री हुने आँकलन गरेको जानकारी दिए । मखमली र गोदावरीको माला ३ लाखवटा र सयपत्रीका १५ लाखवटा माला बिक्री हुने उनको भनाइ छ ।
तिहारमा १५ लाखवटा माला खपत हुनेमा स्वदेशी उत्पादनबाट करिब १२ लाखवटा माला बन्ने एसोसिएशनले जनाएको छ । बाँकी मालाको माग धान्न भारतबाट ३ लाख गोटा हाराहारीमा आयात गर्नुपर्ने हुन्छ । कात्तिकको पहिलो साता बेमौसमी वर्षा नपरेको भए मालाको आयात तथ्याङ्क घट्न सक्थ्यो ।
नेपालको फूलको माग धान्न स्वदेशी उत्पादनले नपुगेपछि गत आर्थिक वर्ष २०७७/७८ मा भारतलगायतका देशबाट करिब ३८ लाख रुपैयाँको फूल आयात भएको थियो । यसले नेपाल फूल खेतीमा आत्मनिर्भर हुँदै गएको र आयात घटिरहेको देखाउँछ ।