काठमाडौँ, २६ असारः वरिष्ठ सञ्चारकर्मी डा रघु मैनालीको ‘सञ्चारशील कक्षाकोठा’ पुस्तक सार्वजनिक भएको छ ।
‘सिकाइ समूह’द्वारा आज यहाँ आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका जानकार प्रा डा विद्यानाथ कोइराला, साहित्यकार हरिहर तिमिल्सनाले पुस्तक सार्वजनिक गर्नुभएको हो ।
डा मैनालीले त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार विषयमा ‘कक्षाकोठा शिक्षणमा सञ्चारको योगदान’ शीर्षकमा गर्नुभएको विद्यावारिधिको शोधप्रबन्धलाई परिमार्जनसहित पुस्तक प्रकाशन गर्नुभएको हो ।
लेखक डा मैनालीका अनुसार पुस्तकले विद्यालयमा विद्यार्थीमैत्री, सहभागितामूलक र प्रभावकारी पठनपाठनको वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको छ ।
“पुस्तकको केन्द्रीय बहस विद्यमान शिक्षककेन्द्रित र विद्यार्थीकेन्द्रित दुवै प्रकारका सिकाइ पद्धतिले कक्षाकोठालाई द्वैत संरचनामा सीमित गरिरहेको अवस्थालाई परिवर्तन गर्दै सहनिर्माणमा आधारित अद्वैत कक्षाकोठा निर्माण गर्नु हो”, डा मैनालीले भन्नुभयो, “शिक्षक र विद्यार्थीबीच रहेको कृत्रिम दूरी हटाई अर्थपूर्ण संवाद र समझदारीमार्फत सिकाइलाई प्रभावकारी बनाउने पक्षमा पुस्तकले स्पष्ट वकालत गरेको छु ।”
कार्यक्रममा प्रभावकारी शिक्षण-सिकाइमा सञ्चारको भूमिका विषयमा विज्ञहरूबीच अन्तरक्रियात्मक मन्थनसमेत गरिएको थियो । वक्ताहरूले पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) प्रविधि र मोबाइल फोनको बढ्दो प्रयोगका कारण विद्यार्थीहरूको सिकाइ शैलीमा परिवर्तन आएको बताउँदै शिक्षकले परम्परागत घोकाइभन्दा सिर्जनात्मक, संवादमुखी र प्रविधिमैत्री शिक्षण विधि अपनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।
वाणिज्यशास्त्र र पत्रकारिता एवं आमसञ्चार दुवै विषयमा उच्च शिक्षा हासिल गर्नुभएका डा मैनाली पत्रकारिताको अध्यापन र पाठ्यक्रम लेखनमा पनि संलग्न हुनुहुन्छ । रेडियो सगरमाथाका संस्थापक र दक्षिण एसियामा सामुदायिक रेडियोका अभियन्ता मैनालीले नेपाल विद्याभूषण, प्रेस स्वतन्त्रता सेनानीलगायत सम्मानबाट सम्मानित हुनुहुन्छ ।
नेपाली परिवेशमा आधारित कक्षाकोठा सञ्चारका मौलिक उदाहरण, सञ्चारसम्बन्धी समस्या तथा तिनका व्यावहारिक समाधानलाई कथाशैली र दृष्टान्तमार्फत प्रस्तुत गरिएको पुस्तकको विशेषताबारे पनि छलफल गरिएको थियो ।