असार २६, २०८३ शुक्रबार

म्याग्दी, २६ असारः जिल्लाको अन्नपूर्ण गाउँपालिकाले किसानलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाले पचास प्रतिशत अनुदानमा १७ वटा यान्त्रिक हलो र पाँच थान बगैँचा गोडमेलमा प्रयोग हुने ‘पावर उइडर’ वितरण गरेको हो ।

    आधुनिक प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरी कृषिमा उत्पादन लागत घटाउने उद्देश्यले गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाख बजेटबाट उपकरण खरिद गर्नुका साथै किसानबाट माग सङ्कलन गरी ती उपकरण वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कृषि यान्त्रिकीकरणसहित यस वर्ष गाउँपालिकाले कृषितर्फ विभिन्न १५ वटा शीर्षकमा विनियोजन गरेको रु ४९ लाख बजेटका कार्यक्रम सम्पन्न गरेको छ । उहाँले रु पाँच लाख बजेटबाट चार सय किसानलाई एक हजार ६०० किलो आलुको बीउ वितरण गरिएको जानकारी दिनुभयो ।

    स्थानीय बाली उत्पादन प्रोत्साहन कार्यक्रममार्फत जुनेली, केराउ, कालो भट्ट, गहत, मास, घैया, लट्टे, फापर, उवा, मस्याङ, बोडी, कोदो, काडे मकै, तोरी बढी उत्पादन गर्ने २० जना किसानलाई रु १५ हजारका दरले अनुदान उपलब्ध गराएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक सम्झना खत्रीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार टिकोटको हरिमुल कृषक समूहमार्फत सञ्चालित तरकारी पकेट कार्यक्रमलाई निरन्तरता, पाँचवटा कृषि फार्ममा पलास्टिक घर निर्माणका लागि रु एक-एक लाख अनुदान, १८३ जना किसानलाई फलफूल बगैँचा सुदृढीकरणका लागि कृषि सामग्री वितरण गरिएको छ । 

    खत्रीले रु चार लाख बजेटबाट पाँच सय कृषक, समूह, सहकारी र फार्मलाई निःशुल्क रूपमा मौसमी तथा बेमौसमि तरकारीका बीउ वितरण, फलफूलखेती प्रवर्द्धन कार्यक्रमबाट ६० प्रतिशत अनुदानमा दुई हजार ९०० सुन्तला र ६५० कागतीका बिरुवा वितरण भएको जानकारी दिनुभयो ।

    सात सय २० किसान परिवारको कृषि तथ्याङ्क सङ्कलन, माटो शिविर र कृषि चुन कार्यक्रमबाट ९२ जना किसान लाभान्वित भएका, ८२ जना किसानलाई रासायनिक, जैविक विषादी वितरण गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।