असार २७, २०८३ शनिबार

भक्तपुर, २७ असारः सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरेको छ । नगरपालिकाको कार्यालय कटुञ्जेमा आयोजित घोषणा कार्यक्रममा नगरप्रमुख वासुदेव थापाले औपचारिक रूपमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गर्नुभएको हो । 

    नगरप्रमुख थापाले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्य निर्माणमा नगरपालिका सफल भएको भन्दै नगरपालिका क्षेत्रमा बस्ने पाँच वर्ष मुनीका प्रत्येक बालबालिकाले सतप्रतिशत खोप पाएको बताउनुभयो । उहाँले घोषणालाई दिगोपना दिन थप कार्यक्रम ल्याउने बताउँदै नगरपालिकाले आफ्ना नागरिकलाई शिक्षा तथा स्वास्थ्य सहज र शुलभ पहुँचमा लगानी बृद्धि गरेको बताउनुभयो ।

    नगर प्रमुख थापाले भन्नुभयो, “स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको छ, त्यसकै परिणामस्वरूप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्भव भएको हो, नगरपालिकाले आफ्ना नागरिकलाई सहज र शुलभ स्वास्थ्य उपचार नगर अस्पतालबाट दिँदै आएको छ, स्वास्थ्य, शिक्षा तथा बालमैत्री स्थानीय शासनका क्षेत्रमा नगरपालिकाले सफलता हात पारेको छ ।”

    सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक शाखाका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले खोप अभियानले जन्मदेखि २३ महिनासम्मका बालबालिकालाई घरघरमै पुगेर खोजी गरेर खोप लगाउन सफल भएको बताउनुभयो । सबै खोप प्राप्त गरेका बालबालिकालाई आगामी वर्षमा खोपको निरन्तरता र सुनश्चितता दिन नगरपालिकाले खोप र खोजलाई निरन्तरता दिने बताउनुभयो । 

    जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्न एक वर्षदेखि खोप तथा खोज कार्यक्रम सञ्चालन गरी घरदैलोमा पगेर प्रत्येक बालबालिकालाई सबै प्रकारको खोज दिएको बताउनुभयो । उहाँले खोप लगाउन छुटेका आठ जना बालबालिकालाई पूर्ण खोप दिलाउन सफल भएको बताउनुभयो ।

    नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बसन्त चौलागाईले घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्कअनुसार नगर क्षेत्रमा खोप पाएका १५ महिनासम्मका बालबालिकाको सङ्ख्या एक हजार ७५० रहेको, ड्रपआउट सङ्ख्या एक रहेको र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाको सङ्ख्या एक हजार ३२९ रहेको बताउनुभयो ।