असार २७, २०८३ शनिबार

    काठमाडौँ, २७ असारः डा भोला रिजालले झन्डै २५ वर्ष अगाडि गीतिकथानक चलचित्र ‘गौँथली’ निर्माण गरेर प्रदर्शन गर्नुभएको थियो । चिकित्सकसँगै साहित्यकार समेत रहनुभएका उहाँले उक्त चलचित्रको कथा श्रीमती सरला रिजालको जीवनीसँग प्रभावित भएर तयार गर्नुभएको थियो ।

    सानै उमेरमा विवाह बन्धनामा बाँधिनुभएकी सरलाको पढ्ने चाहना रोकियो । श्रीमानको हेरचाह गर्दै, श्रीमती र बुहारीको दायित्व निर्वाह गर्दा उहाँले अध्यनलाई निरन्तरता दिन पाउनुभएन् । यही कथालाई डा रिजालले गीति कथानक चलचित्रका रुपमा तयार गर्नुभयो । जहाँ संवाद थिएन, तर भावना व्यक्त गरिएका थिए । सोही कथालाई संवादको स्वरूप दिएर डा रिजालका छोरा डा कपिलले सोही शीर्षक र कथामा चलचित्र ‘गौँथली’ तयार गर्नुभएको हो ।

    आगामी साउन १ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘गौँथली’ मा एसइईसम्म पढ्ने इच्छा बोकेकी बालिकाको सानै उमेरमा विवाह भएपछिको कथालाई देखाइएको छ । सानो उमेर, नयाँ परिवार र ठाउँ तथा पढ्ने चाहनालाई गौँथली नामक पात्रले कसरी पुरा गर्छिन् वा उनको सपना पुरा हुँदैन् ? यही जिज्ञाशा चलचित्र ‘गौँथली’ मा छ । 

    चलचित्रका निर्देशक डा कपिलले शुक्रबार आयोजित अन्तरक्रियात्मक कार्यक्रममा चलचित्रको कथाले मनोरञ्जनसँगै सामाजिक विषयलाई उजागर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि गौँथली छन्, केवल भन्न सकेका छैनन् वा बाहिर आएका छैनन् । मैले यो कथालाई  नजिकबाट महसुस गरेको छु, बुवा (डा भोला रिजाल) आज जुन स्थानमा हुनुहुन्छ, त्यहाँ पुग्न मेरी आमा (सरला रिजाल)ले धेरै त्याग गर्नुभएको छ । बाल्यकालमा विवाह भएर आएपछि बुवा आफ्नो अध्यनको शिलशिलामा बाहिर बस्नुहुन्थ्यो, त्यो समयमा घरसँगै हाम्रो दायित्व पनि आमाले निर्वाह गर्नुभएको हो । त्यहि भावनालाई चलचित्रको स्वरूप दिएर तयार गरेका छौँ ।”

    बेलायतमा दन्त चिकित्सक रहनुभएका डा रिजाल पछिल्लो समय चलचित्रको काममा व्यस्त हुनुहुन्छ । “मैले पहिलादेखि नै साङ्गीतिक श्रव्यदृश्य, छोटा चलचित्र बनाउँथे, रहर थियो । अहिले सही समयमा  चलचित्र निर्देशन गरिरहेको छु, मेरा चलचित्रले मनोरन्जनसँगै सामाजिक सन्देश पनि दिएका छन्”, निर्देशक डा रिजालले भन्नुभयो ।

    उहाँले निर्देशन गर्नुभएका चलचित्र ‘ह्यारीकी प्यारी’ र ‘गौँथली’ मा स्वास्थ्यसँग सम्बन्धित विषय जोडिएको छ । ‘ह्यारीकी प्यारी’ मा वीर्य दानको विषयवस्तु तथा ‘गौँथली’ मा ‘अटिजम’ भएका व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरिएको छ । ग्रामीण परिवेशमा तयार गरिएको चलचित्रमा ‘अटिजम’ भएका युवकको रुपमा अभिनेता अरुण क्षेत्री र एसइई उत्तिर्ण गर्ने सपना बोकेकी बालिकाको रुपमा अभिनेत्री सिम्रन खड्का देखिनुभएको छ । 

    अभिनेता क्षेत्रीसामु चलचित्रमा ‘अटिजम’ भएको युवाको भूमिका कसरी निर्वाह गर्ने भन्ने चुनौती थियो । “अटिजमबारे मेरो बुझाइ फरक रहेछ, मैले विस्तारै बुझ्न थाले । ती फरक क्षमता भएकासँग समय बिताए, उहाँहरूको मानसिकता र फरक क्षमतालाई बुझ्ने कोसिस गरे”, उहाँले भन्नुभयो । 

    उक्त चलचित्रकी अभिनेत्री सिम्रन खड्काले आफूले निर्वाह गरेको पात्रका बारेमा सोच्दा पनि असहज हुने गरेको बताउनुभयो । “म वा मेरो पुस्ताले गौँथलीले भोग्नु परेको कठिनाई र गर्नु परेको सङघर्ष सुन्दा पनि असहज हुन्छ, चलचित्रको माध्यम अन्यभन्दा सशक्त छ, त्यसैले यसले मनोरञ्जनसँगै सामाजिक संदेश दिन्छ”, उहाँले भन्नुभयो ।

    निर्माता सुमन गिरीले यसअघि ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ जस्ता चलचित्रमा काम गर्नुभयो । निर्माण र चलचित्र ‘प्रोडक्सन’ मा जोडिनुभएका उहाँले सामजिक दायित्व बुझेर चलचित्र ‘गौँथली’ निर्माण गरेको बताउनुभयो । 

    “हामीले हाँस्यप्रधान वा अन्य मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न सक्थ्यौं, तर सामाजिक विषयलाई दर्शकसामु ल्याएका छौँ । यसले मनोरञ्जनसँगै केही सिकाउँछ, हामीले गौँथलीलाई पुनः दर्शकमाझ संवाद राखेर ल्याएका छौँ”, निर्माता गिरीले भन्नुभयो ।

    उक्त चलचित्रमा अभिनेता क्षेत्री र अभिनेत्री खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारले अभिनय गर्नुभएको छ । डा भोला रिजालको कथामा आधारित उक्त चलचित्रको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गर्नुभएको हो । निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताउनुभयो ।