असार २८, २०८३ आइतबार

चितवन, २८ असारः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई  व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    वार्षिक करिब दुई लाख पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो । 

    केन्द्रको निरीक्षणपछि मन्त्री चौधरीले धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न केन्द्रलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । त्यसका लागि मन्त्रालयबाट आवश्यक सहयोग हुने  उहाँको भनाइ थियो । 

    मन्त्री चौधरीले केन्द्रमा कार्यरत कर्मचारीका सेवासुविधा तथा स्थायी नियुक्तिसम्बन्धी समस्याबारे पनि जानकारी लिनुभयो ।

    उहाँले प्रजनन केन्द्र तथा निकुञ्ज क्षेत्रमा रहेका हात्तीको पालनपोषण र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो । हाल केन्द्रमा नौ वटा ढोई र सात वटा छावा छन् ।  यहाँका छावालाई हुर्काएर तालिम दिई विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ । निकुञ्जमा एउटा हात्तीको स्याहारका लागि तीन जनाको दरबन्दी छ । 

    त्यसअघि चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनले केन्द्रको अवस्था तथा समस्याबारे  मन्त्री चौधरीलाई जानकारी दिनुभएको थियो । 

    यसैगरी, मन्त्री चौधरीले असार २० गते भरतपुर महानगरपालिका–२३ मा जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएका २१ वर्षीया आशिका बोटे र उहाँका चार वर्षीय छोरा भरत बोटेका अभिभावकसँग भेट गर्नुभयो ।  

    मन्त्री चौधरीले माडी नगरपालिका–१ सेरुवाका बाघको आक्रमणबाट घाइते भई अपाङ्ग हुनुभएका सूर्य महतो तथा सोही वडाका गैँडाको आक्रमणबाट घाइते हुनुभएका मङ्गले बोटेसँग पनि भेट गर्नुभयो ।

    उहाँहरूलाई जीविकोपार्जनका लागि प्रतिव्यक्ति रु पाँच लाखका दरले आर्थिक सहयोग उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।