काठमाडौँ । युएइमा जारी टी-ट्वेन्टी विश्वकपको आयोजक भारत आइतबार भएको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटको फराकिलो हारपछि प्रतियोगिताको समुहचरणबाटै बाहिरिने खतरा बढेको छ ।
यसअघि पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाएर मात्र ११० रन बनाउन सक्यो । सातौं नम्बरमा ब्याटिङका लागि आएका रवीन्द्र जडेजाको २६ रन सर्वाधिक रनका रूपमा रह्यो।
हार्दिक पाण्डे २३ रनमा आउट हुँदा ओपनर केएल राहुल १८ तथा रोहित शर्माले १४ रन मात्र जोड्न सके। त्यस्तै थप दोहोरो रनको स्कोरका रुपमा ऋषभ पन्तको १२ रन रह्यो। कप्तान विराट कोहली केवल १७ बलमा ९ रन बनाएर आउट भए।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट लिंदा ईश सोधिले २ तथा टीम साउदी र एडम मिल्नेले एक एक विकेट लिए।
न्युजिल्यान्डले भारत विरुद्ध ऐतिहासिक रूपमा सर्वाधिक फराकिलो जित निकाल्यो। उसले ३३ बल बाँकी छँदै २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । १११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले राम्रो सुरूवात गर्यो।
पहिलो विकेटका लागि २४ रनको साझेदारी भए पनि ओपनर डर्याल मिचहेलले ४९ रनको सानदार इनिङ खेले। उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थए। त्यस्तै ओपनर मार्टिन गुप्टिल २० रन बनाए।
कप्तान केन विलियमसन ३३ रनमा नटआउट रहँदा डेभन कनवे २ रनमा अविजित फर्किए। न्युजिल्यान्डले केवल १४.३ ओभरमा नै २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
अङ्क तालिका
समूह २ मा पाकिस्तान ३ जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ मा जितसहित दोस्रो स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जितसहित तेस्रो स्थानमा छ । नामिबिया २ खेलमा १ मा जितसहित चौथो स्थानमा छ । समान २ खेल खेलेका भारत र स्कटल्यान्ड अङ्कविहीन हुँदै पाँचौ र छैटौ स्थानमा छन् ।