कात्तिक १५, २०७८ सोमबार

काठमाडौं, कार्तिक १५। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू निकटका न्यायाधीश डा. मनोजकुमार शर्मामार्फत एक सन्देश पठाउँदै इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई आफू सम्मानजनक निकास दिने निचोडमा पुगेको बताएका छन् ।

‘आइतबार संयुक्त बैठकमा न्यायाधीश शर्माले प्रधानन्यायाधीश राणाको सन्देश सुनाउँदै भन्नुभयो, सम्माननीयज्यूले सम्मानजनक निकास चाहनुभएको छ । कसरी छलफल गर्न सकिन्छ भनेर भन्नुभयो,’ एक न्यायाधीशले भने, ‘त्यसपछि हामीले छलफल गरेर एकपटक वार्ताका लागि समिति बनाउने निर्णयमा पुग्याैँ ।’

सम्मानजनक बहिर्गमनको बाटामा रहेको कुरा आएपछि न्यायाधीश डा. शर्मासहितको तीन सदस्य वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र न्यायाधीश डा मनोजकुमार शर्मा छन् । आइतबार नै सो टोलीले प्रधानन्यायाधीशसँग एक चरण छलफल गरिसकेको एक न्यायाधीशले जानकारी दिए । प्रधानन्यायाधीशसँग भेटको निष्कर्ष के आयो भन्नेबारेमा सोमबारको बैठकमा छलफल हुने ती न्यायाधीशले जानकारी दिए ।

२७ मंसिर २०७९ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने जबराले २०७९ असार मसान्तबाट बिदा हुने सांकेतिक सन्देश पठाएका हुन् । त्यसो हुँदा अहिले रोलक्रममा रहेका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की तीन महिनाका लागि प्रधानन्यायाधीश हुन पाउनेछन् । कार्कीको अवकाशपछि रोलक्रमअनुसार न्यायाधीश मीरा खड्काको वैशाखमै अवकाश हुने भएपछि न्यायाधीश हरिकृष्ण कार्की दुई महिनाअघि नै प्रधानन्यायाधीश हुनेछन् ।