असार ३०, २०८३ मंगलबार

खोटाङ, ३० असारः किरात साम्पाङ राई समुदायको ऐतिहासिक एवं उद्गमथलो मानिने खोटाङको बास्पानीस्थित ‘खकलुङ’को संरक्षण तथा प्रवर्द्धन योजना अघि बढेको छ । 

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिका–३ बास्पानीमा अवस्थित खकलुङको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न आवश्यक भौतिक पूर्वाधारका संरचना निर्माणको काम सुरु गरिएको हो । 

नेपाल सरकार, सहरी विकास मन्त्रालयको रु ८९ लाख ३० हजार ७८४ बजेटबाट पहिलो चरणमा पर्खाल निर्माण गरिएको छ । किरात साम्पाङ राई जुम्लेखा केन्द्रीय कार्यसमितिको पहलमा रु १४ करोड ६६ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार पारी काम थालिएको छ । 

किरात साम्पाङ राई समुदायको ऐतिहासिकस्थल एवं उद्गमस्थल खकलुङमा क्रमशः कार्यालय भवन, सङ्ग्रहालय, पाहुना घर, पार्किङस्थल, शौचालयलगायतका भौतिक संरचना निर्माण गरिने किरात साम्पाङ राई जुम्लेखा खोटाङका अध्यक्ष प्रताप राईले जानकारी दिनुभएको छ । 

जुम्लेखाको नाममा रहेको १५ रोपनी सार्वजनिक जग्गामा आवश्यक संरचना निर्माण गरिने जनाइएको छ ।  खोक्मास्थित खकलुङलाई साम्पाङ राईको ऐतिहासिक एवम् उद्गमस्थल मानिन्छ । 

त्यहाँ हरेक वर्षको उँभौली र उँधौली साकेला चाडमा साम्पाङ राई भेला भई पूजाआजा गर्दै साकेला सिली नाच्ने गरेका छन् । आयोजना गरेको निरीक्षणपछि जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राईले डिजाइन र लागतअनुसार मेसिनरी वाल बनेको प्रतिक्रिया दिनुभएको छ ।
 
“यो हाम्रो ऐतिहासिकस्थल हो । यहाँ बन्ने हरेक संरचनामा हाम्रो नजर पुगेको छ”, उहाँले भन्नुभयो, “किरात साम्पाङ राईहरुको ऐतिहासिक एवं उद्गमथलो खकलुङको संरक्षण तथा प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो । यसले पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्छ ।”

भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार डिपीआर अनुसार नै मेसिनरी वालको काम भएको जनाइएको छ । सहरी विकास मन्त्रालयबाट विनियोजित बजेटमार्फत भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले खकलुङको प्रवर्द्धन तथा स्तरोन्नतिको काम गराएको हो । 

बास्पानीस्थित खोक्माको खकलुङमा साम्पाङ राई समुदायको पुर्खा ‘रेप्सुना’ले पहिलोपटक पाइला टेकेको भन्ने किम्वदन्ती छ । खकलुङ, रुमालुङ र साम्फलुङ नजिकै बाह्रै महिना पानी जम्ने ‘खकलुङ कुवा’समेत छ । 

खकलुङ र रुमालुङलाई साम्पाङ राई भाषामा फुपालुङ र मुमालुङ (बाजेबजू) ढुङ्गासमेत भन्ने गरिएको जुम्लेखा खोटाङका जिल्ला अध्यक्ष राईले जानकारी दिनुभएको छ । साम्फलुङ भने जमिनमुनि दबिएको अवस्थामा छ । 

साम्पाङ राई भाषामा ‘साम्फ’ भनेको समथर भन्ने हुन्छ । साम्फलुङमा परापूर्वकालमा ओडार रहेको र सोही ओडारमा बसेका साम्पाङ राईका पुर्खाबाट सन्तान वृद्धि भएर देशभर फैलिएको दावी गरिँदैआएको छ ।