काठमाडौं ; भारत सरकारले सिन्धुपाल्चोकमा थप दुई वटा र ललितपुरका एक सांस्कृतिक सम्पदाको पुनर्स्थापना तथा पुनर्निर्माण गर्ने भएको छ ।
यसका लागि बुधबार सम्झौतापत्र र ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । भारतले यी परियोजनाका लागि २४ करोड ६० लाख रुपैयाँ खर्च गर्नेछ ।
भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख केएम प्रफुल्लचन्द्र शर्मा तथा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाइ भवन का अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
भारतीय दूतावासका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा पनि बुधबारै हस्ताक्षर भएको छ ।
सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनाहरूमा सिन्धुपाल्चोकस्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा र ललितपुरस्थित जेष्ठ वर्ण महाविहार हुन् ।
गुम्बा निर्माण प्राविधिक सहयोग परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाइ भवनले गर्ने दूतावासले जनाएको छ ।
‘०७२ सालको विनाशकारी भूकम्पले क्षती पुर्याएका यी तीन सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत २४.६ करोड को लागतमा हुनेछ,’ भारतीय दूतावासको विज्ञप्तिमा उल्लेख छ, ‘भारत सरकारले नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्स्थापना र पुनर्निर्माणका लागि कुल ५० मिलियन अमेरिकी डलर (नेरु पाँच अर्ब ८० करोड) सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।’
दूतावासका अनुसार भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रमअन्तर्गत अघि बढाइने २८ वटा सांस्कृतिक परियोजनामध्ये ६ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ ।