असार ३०, २०८३ मंगलबार

प्रेमनारायण आचार्य

अर्घाखाँची, ३० असार : ऐतिहासिक घटनालाई पुस्तौँसम्म जीवन्त राख्ने उद्देश्यले शान्ति बगैँचामा तत्कालीन अर्घा र खाँची राज्यका राजाको स्मृति स्तम्भ स्थापना गरिएको छ ।

     युद्ध, वैमनस्य र सङ्घर्षलाई अन्त्य गर्दै शान्ति, मेलमिलाप र सहकार्यको सन्देश दिने उद्देश्यले अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा उक्त स्मृति स्तम्भ निर्माण गरिएको हो । अर्घा र खाँची दुई राज्यबीच बेला–बेलामा युद्ध र द्वन्द्व हुने गरेको सन्र्दभ स्मृति स्तम्भमा स्पष्ट देखिन्छ । 

    सङ्घर्र्षपछि दुवै राज्यका राजाले एउटा खर्कमा भेट गरी औपचारिक रूपमा सन्धि गरेको जनविश्वास रहिआएको छ । ऐतिहासिक घटनाबाट उक्त स्थानको नाम ‘सन्धि भएको खर्क’ अर्थात् ‘सन्धिखर्क’ रहन गएको हो भन्ने विषय इतिहासका पुस्तकमा उल्लेख छ ।
 
     सन्धिका कारण सन्धिखर्क नाम रहन गएको हो भने अर्घा र खाँची दुई राज्यको नाम जोडिएर आजको अर्घाखाँची जिल्लाको नामकरण भएको विश्वास  स्थानीय समुदायमा प्रचलित छ । 

    सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले इतिहासलाई संरक्षण गर्दै नयाँ पुस्तालाई आफ्नै भूमि र पहिचानसँग जोड्ने उद्देश्यले शान्ति बगैँचामा  ऐतिहासिक स्मारक निर्माण गरेको बताउनुभयो । 

    सालिकमा तत्कालीन अर्घा राज्यका राजा अचिन्ताय शाह र खाँची राज्यका राजा विक्रम शाहले हात मिलाएर सन्धि गरेको दृश्यलाई मूर्तरूप दिइएको छ । 

    युद्धभन्दा शान्ति महान् हुन्छ भन्ने सन्देश दिने यो कलात्मक संरचनाले इतिहासलाई केवल पुस्तकमा सीमित नराखी प्रत्यक्ष अनुभूति गराउने प्रयास गरेको छ । खाँची राज्यका एघारौँ पुस्ताका राजा विक्रम शाहले विसं १७२१ देखि १७३४ सम्म शासन गरेका थिए । सोही अवधिमा अर्घाका राजा अचिन्ताय शाहसँग सन्धि भएको  इतिहासका जानकार तीर्थराज आचार्यले बताउनुभयो ।

    अर्घाका राजाले आपसीहितका विषयमा छलफल गर्ने बहानामा खाँचीका राजालाई सन्धिखर्कमा बोलाउनुभएको थियो । त्यसक्रममा खाँची राज्यमाथि सेना परिचालन गर्ने योजना बनेको जानकारी पाएपछि खाँचीका राजा आफ्ना सैनिकसहित प्रतिरक्षामा उत्रिएका थिए । त्यसपछि भएको युद्धमा अर्घाली सेनापछि हट्न बाध्य भएको र अन्ततः दुवै पक्षले युद्धको कुनै अर्थ नरहेको निष्कर्ष निकाल्दै सन्धि गरेको इतिहासमा उल्लेख छ ।  

    सन्धिखर्कको नाम शान्ति र सन्धिसँग जोडिएको विश्वास छ । यकिन गर्न  निर्माण गरिएको सो स्मृतिस्थल  आन्तरिक पर्यटक, विद्यार्थी, अनुसन्धानकर्ता तथा इतिहासप्रेमीकाका लागि  आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

    लुम्बिनी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयको आर्थिक सहयोग तथा सन्धिखर्क नगरपालिकाको समन्वयमा स्मृति स्तम्भ निर्माण गरिएको हो । उक्त  स्मारक जिल्लाको ऐतिहासिक पहिचान संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै इतिहासप्रति गर्व गर्ने वातावरण सिर्जना गरेको सन्धिखर्क–१ का वडाध्यक्ष माधव श्रेष्ठले बताउनुभयो । 
 
    इतिहासअनुसार अर्घा राज्यका अन्तिम राजा वीरकुमार शाह र खाँची राज्यका अन्तिम राजा दुर्गा शाह थिए । पृथ्वीनारायण शाहकी जेठी मुमा चन्द्रप्रभावती खाँची राज्यकी राजकुमारी रहेको इतिहासमा उल्लेख छ ।
 
    राज्य सञ्चालनको अनुभव, कूटनीतिक सोच र नेपाल एकीकरणका लागि प्रेरणा दिने व्यक्तित्वका रूपमा चन्द्रप्रभावतीको महत्वपूर्ण भूमिका रहेको इतिहासकार बताउँछन् । 

     चन्द्रप्रभावतीको नामबाट सन्धिखर्क–७ मा चन्द्रप्रभा माध्यमिक विद्यालय स्थापना गरिएको छ, जसले स्थानीय इतिहासलाई थप जीवन्त बनाएको बताइन्छ ।

    स्थानीय बुद्धिजीवी पुस्तकका पानामा इतिहास सीमित हुँदा नयाँ पुस्ताले त्यसको गहिराइ सहज रूपमा बुझ्न सक्दैनन् । त्यसैले स्मारक र ऐतिहासिक संरचनाले इतिहासलाई प्रत्यक्ष अनुभूति गराउने भएकाले यसको महत्व अझ बढेको बताउनुहुन्छ । 

     विद्यालय तथा कलेजका विद्यार्थीले अर्घाखाची भ्रमण गर्दै सन्धिखर्कको उत्पत्ति, अर्घा–खाँची राज्यको इतिहास र जिल्लाको पहिचानबारे प्रत्यक्ष जानकारी लिन सक्ने वातावरण बनेको भूमिकास्थान नगरपालिका–८ का वडाध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । पर्यटन प्रवर्द्धनका दृष्टिले स्मारक महत्वपूर्ण उपलब्धि मानिएको छ । 

    धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण अर्घाखाँचीमा सुपादेउराली, पाणिनी तपोभूमि, अर्घा र खाँचीदरबार, अर्घा भगवती मन्दिर लगायतका गन्तव्यसँगै  शान्ति बगैँचामा रहेको  उक्त स्मृति स्तम्भ नयाँ पर्यटकीय आकर्षणका रूपमा थपिएको छ । सन्धिखर्क केवल बजारको नाम होइन । युद्धबाट शान्तितर्फको यात्राको प्रतीक हो । सोही सन्देशलाई भावी पुस्तामा पु¥याउने उद्देश्यले शान्ति बगैँचामा स्थापना गरिएको अर्घा र खाँचीका दुई राजाको सालिकले अर्घाखाँचीको इतिहासलाई सदैव जीवन्त राख्ने विश्वास गरिएको छ ।