असार ३१, २०८३ बुधबार

दाङ, ३१ असारः थारू राजादङ्गीशरणले १३औँ शताब्दीमा राजधानी बनाएर राज्य गरेको तुलसीपुर उपमहानगरपालिका–११ सुकौराकोट क्षेत्रको अब संरक्षण गरिने भएको छ । 

पर्यटन डिभिजन कार्यालय, कोहलपुरले दरबारको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । 
थारू समुदायको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ठाउँ भए पनि लामो समयदेखि संरक्षण हुनसकेको थिएन ।

उक्त क्षेत्रको भौतिक पूर्वाधार निर्माण गर्न रु चार करोड ९० लाखको बोलपत्र आह्वान गरिएको नगरपालिकाले जनाएको छ । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संरक्षण र पुनर्निर्माणपछि पर्यटन गन्तव्यका रूपमा सुकौराको विकास र विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

हाल सुकौरामा रहेको भ्यूटावर भने अहिले पनि सबैको आकर्षणका रूपमा रहेको छ । यसअघि त्यहाँ निर्माण भएको हरितपार्क भने पछिल्लो समय अलपत्र अवस्थामा छ । त्यस क्षेत्रलाई थारू सभ्यता र इतिहाससँग जोडिएको महत्त्वपूर्ण दरबार क्षेत्रका रूपमा लिने गरिएको छ ।  सो स्थानमा दङ्गीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा निर्माण गरिएको कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ ।

दाङमा औलो लाग्ने र गर्मी हुने भएकाले दङ्गीशरणले गर्मी छल्नका लागि त्यस क्षेत्रको चुरे पहाडको शिखरमा बनाइएका भौतिक पूर्वाधारसहितको क्षेत्रलाई राजाकोट नामले परिचित छ । त्यस्तै राजाको दरबारको नजिक सिकार खेल्ने वन र रानी नुहाउने गरेको बुल्बुल्या तालसमेत रहेको छ ।