काठमाडौँ, ३१ असारः सांसदहरुले मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन, सुविधासम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको कार्यान्वयन तथा ‘डिजिटल’ सेवा प्रवाहलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले आत्मदाह, आत्महत्या तथा डिप्रेसनलगायत समस्याको समाधानका लागि अविलम्ब मानसिक स्वास्थ्यसम्बन्धी नीति परिमार्जन गर्न सत्ता र प्रतिपक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
सोही पार्टीका राजकिशोर महतोले मुलुकका ठूला तथा सुविधासम्पन्न अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
श्रम संस्कृति पार्टीका पूर्णप्रसाद लिम्बूले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा समस्या आएकाले समस्याको यथाशीघ्र समाधान गर्न आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रिङ्गला यादवले पनि सोही समस्या समाधानमा जोड दिँदै यातायात व्यवस्था विभाग र भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्थापन विभागका सर्भर तत्काल मर्मत गरी आधारभूत सार्वजनिक सेवा सुचालु गर्न माग गर्नुभयो ।
नेपाली कांग्रेसका निश्कल राईले इलामका जीर्ण सडक पूर्वाधार तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका बलावती शर्माले बागलुङको काठेखोला गाउँपालिका–७ र ८ भएर बग्ने रेशाखोला तर्ने क्रममा गुल्मीको मुसिकोटकी ४५ वर्षीया मीना कार्की बेपत्ता भएकीले निजको खोजी गर्न प्रशासनको ध्यानाकर्षण गराउनुभयो ।
रास्वपाका धनेन्द्र कार्कीले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ मा केही दिनअघि पहिरोले हेमबहादुर दुराको घर पुरिएको र उद्धारका लागि परिचालन भएको सुरक्षाकर्मीको टोली सडक अवरुद्ध हुँदा समयमै पुग्न नसकेको जानकारी दिँदै जीर्ण सडकको मर्मतसम्भार हुनुपर्ने माग गर्नुभयो।
सोही पार्टीका सोम शर्माले विपद् प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापना गराउनेगरी राज्यका संयन्त्रलाई तयार पार्न आग्रह गर्नुभयो ।
एमालेका राजेन्द्रकुमार राईले करार तथा अस्थायी सेवामा रहेका कर्मचारीका माग सम्बोधन गर्न आग्रह गर्नुभयो । सोही पार्टीका साजिदा खातुन सिद्धिकीले लालबकैया र बागमती किनारका बस्ती डुबानको जोखिममा रहेका जनाउँदै प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान आग्रह गर्नुभयो ।