मान्म (कालीकोट), ३१ असारः कर्णाली राजमार्गअन्र्तगत कालीकोटको सेरीघाट–मान्म बजार र नाग्म सडकखण्ड स्तरोन्नति हुने भएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाले आगामी आर्थिक वर्षमा कालीकोटको सेरीघाट–मान्म बजार र नाग्म सडकखण्डको स्तरोन्नतिका लागि ‘फर्निसिङ’ तथा ‘रोड मार्किङ’को काम गर्ने भएको हो । कर्णाली राजमार्गको यातायात पूर्वाधारलाई सुदृढ र सुरक्षित बनाउने उद्देश्यका साथ सडक डिभिजन कार्यालय जुम्लाले स्तरोन्नति गर्न लागेको छ । त्यसका लागि नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत मातहत रहेको सडक डिभिजन जुम्लाले स्तरोन्नतिका लागि बोलपत्र (ठेक्का) आह्वान गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
विशेषगरी सेरीघाट–मान्म बजार–नाग्म सडकखण्ड वर्षायाममा हिलो, खाल्डाखुल्डी, साँघुरोपन र हिउँदमा धुलाम्मे हुने भएका कारण यात्रु तथा सवारीसाधनलाई सास्ती हुँदै आएकाले सडक स्तरान्नति गर्न ठेक्का प्रक्रिया अगाडी बढेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी प्रदीपनारायण चौधरीले बताउनुभयो ।
“डिभिजन कार्यालयले कर्णाली राजमार्गसहित यस क्षेत्रका रणनीतिक महत्वका सडकखण्डको सुधार, मर्मत र कालोपत्रका लागि प्रक्रिया अघि बढाएको छ”, उहाँले भन्नुभयो, “सडकको स्तरोन्नति, आवश्यक स्थानमा चौडाइ विस्तार, नाला निर्माण, जोखिमयुक्त मोड सुधार, पर्खाल निर्माण तथा कालोपत्र गर्ने गरी योजना छ ।”
सडक सुधारसँगै यात्राको समय घट्ने, यातायात सेवा नियमित हुने तथा सडक दुर्घटनाको जोखिम पनि कम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । त्यस्तै, थारमारे–चौरजहारी–जाजरकोट खलङ्गा–जुम्ला कुँदारी–मुगु रारा सडक, खलङ्गा जुम्ला खाली भुल्भुले ताल्चा रारा सडक तथा मनाङ मुस्ताङ डोल्पा जुम्ला सडक खण्डमा संरचनागत कामसहित सडक सुधार तथा स्तरोन्नति गरिने सूचना अधिकारी चौधरीले बताउनुभयो । उहाँले मुगुस्थित रारा राजमार्गको ताल्चादेखि सल्लेरी खण्ड र जुम्लाको देवारगाउँदेखि आचार्यलिही खण्डमा कालोपत्र गरिने जानकारी दिनुभयो ।