साउन २, २०८३ शनिबार

भद्रपुर (झापा), २ साउनः झापामा गत आर्थिक वर्षमा  प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने रु २२ करोड ७४ लाख ६० हजार नौ सय ५९ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार उक्त अवधिमा जिल्लामा ३५९ वटा विपद्का घटना अभिलेख भएका थिए । ती घटनामा ३७ जना घाइते भएका थिए । 

उक्त अवधिमा १५६ वटा आगलागीका घटना भएका, जङ्गली हात्ती र वन्यजन्तुको आक्रमणका ९४, हुरीका ५२, बाढी तथा डुबानका ३५ र चट्याङका २२ वटा घटना थिए । 

विपद्का कारण आगलागीमा दुई जना, जङ्गली जनावरको आक्रमणबाट छ जना, हुरीमा एक जना र चट्याङ लागेर दुई जनाको मृत्यु भएको  हो ।

प्राकृतिक विपद्का विभिन्न घटनामा आठ हजार नौ सय १४ वटा चौपाया तथा पशुपन्छी मरेभने  हुरीबाट तीन हजार २० र आगलागीबाट पाँच हजार ६६२ पशुपन्छी हताहत भएका थिए । 

आगलागीबाट रु १५ करोड २२ लाखभन्दा बढी र बाढी तथा डुबानबाट रु छ करोड ३४ लाख बराबरको क्षति भएको सूचना अधिकारी अवाले बताउनुभयो ।