वीरगन्ज (पर्सा), ४ साउनः जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न मुद्दामा ६९४ जनालाई पक्राउ गरेको छ ।
कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी एक वर्षको अवधिमा रु पाँच करोडभन्दा बढी मूल्यबराबरका भन्सार छलीका सामान बरामद गरिएको जनाएको छ । वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले वर्षभरि एक हजार १५२ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।
तीमध्ये ६८० वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने ४७२ वटा अनुसन्धानकै क्रममा छन् । त्यस्तै चार हजार ८५० ठाडो उजुरी परेकामा चार हजार ३८० फछ्र्योट भएको र ४७० प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।
लागुऔषध नियन्त्रण अभियानअन्तर्गत ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरिएको एसपी रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “यस अवधिमा ८४७ किलो ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलीग्राम ब्राउन सुगर, चार हजार २६५ नशालु एम्पुल तथा १३ हजार ९१६ वटा लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको छ ।”
अदालतको फैसला कार्यान्वयन अभियानमा प्रहरीले ४४८ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै रु ६९ लाख ७१ हजार ८७४ जरिवाना असुल गरिएको छ ।
अवैध हातहतियार नियन्त्रण अभियानअन्तर्गत छ थान हतियार र ११ राउन्ड गोली बरामद गरिएको छ भने तीन जनालाई पक्राउ गरिएको छ । यस्तै, खोटा मुद्रासम्बन्धी तीनवटा मुद्दामा सात जनाविरुद्ध कारबाही अघि बढाइएको र एक लाख ३६ हजार नक्कली नोट बरामद गरिएको एसपी रिजालले बताउनुभयो ।
ट्राफिक व्यवस्थापनतर्फ आर्थिक वर्षभरि एक हजार ८८ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको तथा एक हजार ६९६ जना घाइते भएका छन् ।
ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार २५५ सवारीसाधनलाई कारबाही गर्दा रु एक करोड एक लाख ३७ हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । भन्सार छली नियन्त्रण अभियानमा १८ जनालाई पक्राउ गरी १५५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । यस क्रममा रु पाँच करोड ९२ लाख ५५ हजार ७२१ बराबरका राजस्व छलीका सामान भन्सार कार्यालयमा दाखिला गरिएको एसपी रिजालले बताउनुभएएको छ ।
प्रहरीले स्रोत नखुलेको रु १३ लाख ६२ हजार २०० सहित चार जनालाई पक्राउ गरेको छ । अवैध सालको काठ बरामद गरी रु पाँच लाख ९५ हजार २२५ राजस्व सङ्कलन भएको छ ।
नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने ३० सवारीसाधनसहित तीन जनालाई पक्राउ गरी रु दुई लाख ५७ हजार ३०० राजस्व सङ्कलन गरिएको छ ।
एक वर्षको अवधिमा एक लाख ३३ हजार ७६४ सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय रौतहटबाट विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन् । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभरि १५४ कार्यक्रम सञ्चालन भएको थियो ।