रोम, ५ साउन : स्पेनिस फुटबल लिग (ला लिगा)का अध्यक्ष जाभियर टेबासले सन् २०३० को विश्वकप ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे भइरहेको छलफललाई लिएर फिफामाथि गैरजिम्मेवार ढङ्गले अघि बढेको आरोप लगाउनुभएको छ ।
मङ्गलबार प्रकाशित इटालियन खेल दैनिक ला ग्याजेटा डेलो स्पोर्टसँगको अन्तर्वार्तामा उहाँले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वकाल समाप्त भइसकेको टिप्पणी गर्दै वर्तमान व्यवस्थालाई ‘आधारभूत रूपमै त्रुटिपूर्ण प्रणाली’ को सङ्ज्ञा दिनुभयो ।
“फुटबल उद्योग भनेको केवल विश्वकप मात्र होइन, चाहे त्यो जतिसुकै महत्त्वपूर्ण किन नहोस्,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार फिफाले ४० दिनसम्म सञ्चालन हुने सीमित अवधिको प्रतियोगितालाई प्राथमिकता दिँदै हजारौँ रोजगारी सिर्जना गर्ने समग्र फुटबल उद्योगलाई कमजोर बनाइरहेको छ ।
गत जुनमा भएको विश्वकप उद्घाटन समारोहका क्रममा इन्फान्टिनोले सन् २०३०को विश्वकपको शताब्दी संस्करणलाई ६४ टोलीसम्म विस्तार गर्ने विषयमा छलफल भइरहेको बताउनुभएको थियो । उक्त विश्वकप मुख्य रूपमा स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुनेछ भने पाराग्वे, उरुग्वे र अर्जेन्टिनामा पनि केही खेल सञ्चालन हुनेछन् ।
टेबासले प्रतियोगिताको व्यस्त तालिकाप्रति आफूहरूले पटक–पटक चिन्ता व्यक्त गर्दै आएको उल्लेख गर्दै ६४ टोलीको विश्वकपले फुटबल क्यालेन्डरलाई अझ जटिल बनाउने बताउनुभयो ।
“घरेलु लिगहरूले नै फुटबललाई जीवन्त राखेका छन्,” उहाँले भन्नुभयो, “हामीलाई कम अन्तरराष्ट्रिय प्रतियोगिता र सबै तहमा घरेलु फुटबलको अझ प्रभावकारी संरक्षण आवश्यक छ । तर फिफाले त्यसलाई बेवास्ता गर्दै गैरजिम्मेवार निर्णय गरिरहेको छ ।”