साउन ६, २०८३ बुधबार

काठमाडौँ, ६ साउनः रामादा बाई विन्धाम इटहरीले यस वर्षको साउन महिनामा बोलबम यात्रामा सहभागी हुने भक्तजनलाई सहयोग गर्ने भएको छ । 

प्रत्येक वर्ष हजारौँ श्रद्धालु सहभागी हुने उक्त धार्मिक यात्रा बराहक्षेत्र, चतराबाट सुरु हुन्छ, जहाँ भक्तजनले सप्तकोशी नदीबाट पवित्र जल सङ्कलन गर्ने गर्छन् । त्यसपछि उहाँहरूले पैदलयात्रा गर्दै धरानस्थित पिण्डेश्वर महादेव मन्दिर पुगेर भगवान् शिवलाई जलाभिषेक अर्पण गर्ने गरेका छन् । धार्मिक मान्यताअनुसार देवता र असुरबीच भएको समुद्र मन्थनपछिको सङग्रामका क्रममा प्राप्त अमृतको दिव्य अंशबाट पिण्डेश्वरको शिवलिङ्ग प्रकट भएको विश्वास गरिन्छ । पिण्डेश्वर महादेव मन्दिर पूर्वी नेपालको प्रसिद्ध शिवालयमध्येको एक हो ।

रामादा बाई विन्धाम इटहरीले खाना र बस्न विशेष छुटको घोषणा गरेको छ । सो होटलका महाप्रबन्धक अभिमन्यु कायस्थले यस सहयोगले भक्तजनलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । रामादा बाई विन्धाम इटहरीले पूर्वी नेपाललाई संस्कृति, अध्यात्म र धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवद्र्धन गर्दै आएको उहाँको भनाइ छ । पिण्डेश्वर महादेव मन्दिर, बराहक्षेत्र धाम तथा कोशी टप्पु वन्यजन्तु आरक्षजस्ता धार्मिक तथा प्राकृतिक गन्तव्यको भ्रमण गर्न चाहने पाहुनाका लागि सहज आधारस्थलको भूमिका निर्वाह गर्दै आएको कायस्थले बताउनुभयो ।