साउन ६, २०८३ बुधबार

काठमाडौँ,  ६ साउनः जलवायु परिवर्तनका कारण तातो दिन तथा तापसम्बन्धी घटना बढ्दै गएकाले त्यस प्रभावमा आधारित मौसम पूर्वानुमानलाई दिगो र प्रभावकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपालमा तापक्रमजन्य अवस्थाका लागि प्रभावमा आधारित पूर्वानुमानसम्बन्धी आज आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीमो जलवायु परिवर्तनका कारण तातो दिन र तापसम्बन्धी घटना बढ्दै गएको तथ्याङक प्रस्तुत गरियो ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारील विभागले जारी गर्ने मौसम तथा तापक्रमको प्रभावमा आधारित पूर्वानुमानले जनचेतना अभिवृद्धि र पूर्वतयारीमा सकारात्मक प्रभाव पार्न थालेको बताउनुभयो ।

 मौसमविद् रोजन लामिछानेले तापक्रमको असरले जनजीवन र धनजनमा कस्तो प्रभाव पर्छ भन्ने विषयलाई समेटेर प्रभावमा आधारित मौसम पूर्वानुमान प्रणालीलाई थप व्यवस्थित रूपमा अघि बढाइने बताउनुभयो । 

गौर नगरपालिकाकी प्रतिनिधि रोश्नीकुमारी श्रेष्ठले गौर नगरपालिकाले विस २०७६देखि नै आपत्कालीन कार्यसञ्चालन कार्यविधि लागू गरी प्रभावमा आधारित पूर्वानुमान, पूर्वसूचना र पूर्वकार्यलाई स्थानीय तहमा कार्यान्वयन गर्दै आएको बताउनुभयो ।  

उहाँले तातो हावाको लहरबाट नागरिकलाई जोगाउन  जनचेतना आवश्यक रहेको उल्लेख गर्दै चेतावनीको प्रभावकारी बुझाइ सुनिश्चित गर्नु अझै चुनौतीपूर्ण रहेको धारणा राख्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा तातो हावाको लहर तीव्र बन्दै गएको बताउनुभयो ।

 कार्यशालामा तापक्रमजन्य अवस्थाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि प्रभावमा आधारित पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारी बनाउने, पूर्वसूचना प्रणाली सुदृढ गर्ने तथा विभिन्न निकायबीच समन्वय बढाउने विषयमा छलफल भएको थियो ।