नेपालगञ्ज, ६ साउनः बाँकेको दुर्गम मानिने र स्वास्थ्य सेवाको न्यून पहुँच रहेको नरैनापुर गाउँपालिकामा बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको छ ।
केही समयअघिसम्म घरमै सुत्केरी गराउने महिला अहिले गाउँमै स्थापना गरिएका बर्थिङ सेन्टरमा पुगेर सुत्केरी सेवा लिन थालेको गाउँपालिकाले जनाएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले केही वर्षपहिलेसम्म नरैनापुरका अधिकांश महिलाले घरमै सुत्केरी गराउँदै आएकोमा अस्पताल जानुपर्दा सीमापारि भारतका अस्पताल वा नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।
उहाँले गणतन्त्र स्थापनापछि दुर्गम र पिछडिएको नरैनापुरमा कालोपत्रे सडक र विद्युत्सँगै स्वास्थ्य सेवाको पहुँच पनि बढेर बर्थिङ सेन्टरहरू सञ्चालन गरिएपछि महिला ती सेन्टरमा पुग्न थालेको उल्लेख गर्नुभयो ।
एम्बुलेन्ससमेत नरहेको सो पालिकामा अहिले विभिन्न वडामा स्वास्थ्य केन्द्र तथा बर्थिङ सेन्टर सञ्चालनमा आएका छन् । “कुनै बेला प्रसूति सेवाका लागि करिब ५० किलोमिटर टाढा नेपालगञ्जका अस्पताल पुग्नुपर्ने बाध्यता थियो तर अहिले त वडावडामै सञ्चालन गरिएका बर्थिङ सेन्टरमा सुत्केरी सेवा उपलब्ध छ”, उहाँले भन्नुभयो ।
नरैनापुर गाउँपालिकामा सञ्चालनमा ल्याइएका बर्थिङ सेन्टरमार्फत चालु आर्थिक वर्ष २०८२/०८३ मा एक हजार १५१ जना महिलाले सुरक्षित सुत्केरी सेवा पाएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा एक हजार १२३ जना महिलाले सुरक्षित सुत्केरी सेवा लिएकोमा चालु आर्थिक वर्षमा सो सङ्ख्यामा वृद्धि भएको छ ।
स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले घरमै अधिकांश सुत्केरी गराउने र अस्पताल जान नमान्नेहरूले पछिल्लो समय धमाधम बर्थिङ सेन्टरमा पुगेर सेवा लिन थालेको बताउनुभयो । उहाँले नरैनापुरको वडा नम्बर १ देखि ६ सम्मका छ वटा बर्थिङ सेन्टरमा चौबीसै घण्टा सञ्चालन भइरहेको प्रसूति सेवाबाट सो क्षेत्रका महिला लाभान्वित भइरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख शाहका अनुसार प्रशिक्षित जनशक्ति र निःशुल्क एम्बुलेन्स सेवामार्फत सुरक्षित सुत्केरी सेवा दिइँदै आएको छ । उहाँले तालिमप्राप्त जनशक्तिबाट चौबीसै घण्टा प्रसूति सेवा दिएको उल्लेख गर्दै बर्थिङ सेन्टरसम्म ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको बताउनुभयो ।
नरैनापुरमा चालु आवमा वडा नम्बर १ मा १८६, वडा नम्बर २ मा १७४, वडा नम्बर ३ मा १०१, वडा नम्बर ४ मा २५४, वडा नम्बर ५ मा २८६ र वडा नम्बर ६ मा १५३ जना महिलाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।