सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नरहेको नेपाल आयल निगमले स्पष्ट पारेको छ। पछिल्लो समय बजारमा ग्यास नपाइने आशंका बढे पनि आपूर्ति प्रणाली नियमित रहेको निगम सुर्खेत कार्यालयले जनाएको छ।
नेपाल आयल निगम सुर्खेतका अनुसार भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास निरन्तर आयात भइरहेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भए पनि अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासका कारण उपभोक्ताले सामान्य आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न थालेपछि बजारमा वितरण व्यवस्थापनमा केही दबाब देखिएको निगमको भनाइ छ।
निगम सुर्खेतका प्रमुख दीपककुमार घिमिरेले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन वितरण प्रणाली व्यवस्थित गरिएको जानकारी दिए। उनका अनुसार बजारमा अनावश्यक सञ्चय रोक्न र सबै उपभोक्तालाई समान पहुँच सुनिश्चित गर्न ‘एक व्यक्ति, एक सिलिन्डर’ को व्यवस्था लागू गरिएको छ।
निगमले अधिकृत बिक्रेतामार्फत विभिन्न कम्पनीका २ हजार ९२२ वटा १४ दशमलव २ केजीका एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको छ। ती सिलिन्डर उपभोक्ताले तोकिएको मूल्य प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ मा खरिद गर्न सक्नेछन्।
यसैगरी, उपभोक्ताको मागलाई ध्यानमा राख्दै नेपाल ग्यासका ३२० वटा सिलिन्डर वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा रहेको न्यू जानकी ट्रेड एण्ड सप्लायर्समार्फत वितरण गरिने निगमले जनाएको छ।
निगमले उपभोक्तालाई आधिकारिक बिक्रेताबाट मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ। साथै, आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न र बजारमा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिबाट सचेत रहन अनुरोध गरेको छ।
तोकिएको मूल्यभन्दा बढी रकम असुल गर्ने, मौज्दात हुँदाहुँदै ग्यास बिक्री नगर्ने वा अनधिकृत रूपमा ग्यास सञ्चय गर्ने गतिविधि भेटिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन निगमले आग्रह गरेको छ।
निगमका अनुसार आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन बिक्रेता तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको छ। उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यसहित बजार अनुगमन र वितरण व्यवस्थापनलाई थप व्यवस्थित बनाइएको निगमले जनाएको छ।