साउन ११, २०८३ सोमबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२८ अंक (१.२१ प्रतिशत) ले घटेर २,७०१.३२ विन्दुमा झरेको छ। बजार खुलेदेखि नै बिक्री दबाब देखिँदा अधिकांश कम्पनीको शेयर मूल्य ओरालो लागेको हो।

आज ३६० कम्पनीका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ। कुल ६९ हजार ८०३ वटा कारोबार सम्पन्न भएका छन्।

कारोबार भएका कम्पनीमध्ये ३६ कम्पनीको शेयर मूल्य बढ्दा २३४ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। घट्दो बजारमा पनि एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य १४.९९ प्रतिशतले बढेर सबैभन्दा धेरै कमाउने कम्पनी बनेको छ। विपरीत, आत्मनिर्भर लघुवित्तको शेयर मूल्य करिब १३ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ।

क्षेत्रगत सूचकतर्फ बैंकिङ र म्युचुअल फन्ड बाहेक सबै समूह राताम्मे भएका छन्। उत्पादन तथा प्रशोधन, व्यापार र होटल तथा पर्यटन समूहमा २ प्रतिशतभन्दा बढी गिरावट आएको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स ३३ करोड ८६ लाख ६६ हजार ५८१ रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रह्यो। त्यसपछि ग्लोबल आईएमई बैंक, रिडी हाइड्रोपावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स सर्वाधिक कारोबार हुने कम्पनीका रूपमा रहेका छन्।