साउन ११, २०८३ सोमबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। साथै घटनाका सम्बन्धमा अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निष्पक्ष छानबिन गरिने उल्लेख गरिएको छ।

विज्ञप्तिमा बिरामीको उपचारका क्रममा कुनै त्रुटि भएको भए त्यसको अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारिएको छ। साथै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने मन्त्रालयको भनाइ छ।

मन्त्रालयले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा सेवा गर्ने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। स्वास्थ्य संस्थामा हिंसा र तोडफोडका घटनाले सेवा प्रवाहमा असर पर्ने भएकाले यस्ता गतिविधि नगर्न सबै पक्षसँग आग्रह पनि गरिएको छ।

साथै, अस्पतालको नियमित सेवा प्रभावित हुन नदिन तथा सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाउने वातावरण बनाउन सबै सरोकारवाला पक्षलाई संयमित भई सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।