साउन १७, २०८३ आइतबार

काठमाडौं । काठमाडौंको जडीबुटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गेटअगाडि आइतबार बिहानैदेखि सर्वसाधारण खाली ग्यास सिलिन्डर बोकेर लामबद्ध भएका छन्।
उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव देखिएपछि उपभोक्ता ग्यासका लागि घण्टौँ लाइन बस्न बाध्य भएका हुन्।
आइतबार बिहान साढे १० बजेसम्म पनि जडीबुटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको परिसरबाहिर खाली सिलिन्डर बोकेर लाइन बस्ने सर्वसाधारणको संख्या बढ्दै गएको देखिएको छ। ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा दैनिक खाना पकाउने अत्यावश्यक वस्तुका लागि समेत उपभोक्ताले सास्ती खेप्नुपरेको छ।
ग्यासको आपूर्ति पर्याप्त हुन नसकेको हो वा बजारमा कृत्रिम अभाव सिर्जना गरिएको हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी दिन सकेका छैनन्। ग्यासका लागि लामो समय लाइन बस्नुपर्दा सर्वसाधारणको दैनिकीसमेत प्रभावित भएको छ।
उपभोक्ताले सरकारले तत्काल बजार अनुगमन गरी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन्।