कात्तिक २८, २०७८ आइतबार

बैतडी- वाइवाई उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनोट खेलमा बैतडीले विजयी सुरुवात गरेको छ।

शनिवार सम्पन्न खेलमा बैतडीले दार्चुलामाथि ९२ रनको उत्कृष्ट जित निकालेको हो। एक सय ६५ रनको लक्ष्य पन्छाएको दार्चुला २४ दशमलव २ ओभरमा मात्रै ४८ रनमा सिमित भयो।  दार्चुलाका दिनेश विष्टले सर्वाधिक १४ रन जोडे।  अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

दार्चुलाको पारी ध्वस्त पार्ने क्रममा बैतडीका गजेन्द्र बोहरा ५ विकेट लिए। यस्तै भुपेन्द्र चन्दले ३, वीरेन्द्र नाथ र प्रदीप चन्दले एक÷एक विकेट हात पारे। बैतडीले २४ रन अतिरिक्त खर्चिएको थियो।

त्यसअघि कञ्चनपुरको कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडी ३० दशमलव ४ ओभरमा एक सय ६४ रनमा अलआउट भएको थियो।

जसमा नरेन भट्टले अर्धसतकीय पारीखेल्दै  सर्वाधिक ५४ रन हिर्काए। कप्तान खडकबहादुर बोहराले ३८ र गजेन्द्र बोहराले २२ रनको पारी खेले। दार्चुलाका विपीन धामी, विरेन बम र वीरेन्द्र विष्टले समान ३÷३ विकेट झारे।

बैतडीका गजेन्द्र बोहरा म्यान अफ द म्याच चुनिएका स्कोरर खेमराज भट्टले जानकारी दिए। यस्तै कञ्चनपुरको खुलामञ्च मैदानमा भएको अर्को खेलमा कञ्चनपुरले बझाङलाई हराएको छ।

कञ्चनपुरमा कात्तिक २४ गतदेखि जारी प्रदेशस्तरिय छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाको सहभागिता रहेको छ। छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको उन्नाइस वर्षमूनिको टोली बनाइने भएको छ।

उक्त टोली उन्नाइस वर्षमूनिको राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ। नेपाल क्रिकेट संघको आयोजनामा अगामी मंसिर ४ गतेदेखि उन्नाइस वर्षमूनिको राष्ट्रिय हुदैँछ।