काठमाडौं । नवलपरासी क्षेत्र नम्बर २ का सांसद नरेन्द्रकुमार गुप्ताले परासीस्थित प्रादेशिक अस्पताललाई १०० शय्यामा विस्तार गरी आवश्यक स्वास्थ्य उपकरण र सेवा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुप्ताले ५० शय्याको अस्पतालका रूपमा रहेको परासीस्थित अस्पतालमा भवन र चिकित्सक भए पनि आवश्यक डायग्नोस्टिक उपकरणको अभाव रहेको बताए। उपकरण नहुँदा बिरामीले अस्पतालबाट अपेक्षित स्वास्थ्य सेवा पाउन नसकेको उनको भनाइ छ।
उनले अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्दै आवश्यक पूर्वाधार, उपकरण तथा विशेषज्ञ सेवासहित सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, पाल्हीनन्दन गाउँपालिका–४ मा रहेको पाली अस्पतालको अवस्था पनि दयनीय रहेको सांसद गुप्ताले बताए। अस्पतालमा भवन भए पनि चिकित्सक, आवश्यक उपकरण र औषधिसमेत उपलब्ध नभएको उनले सदनमा जानकारी गराए।
‘भवन छ, तर डाक्टर छैनन्, उपकरण छैनन्, औषधि छैन। यस्तो अवस्थामा त्यहाँका नागरिकले कसरी स्वास्थ्य सेवा पाउने?’ भन्दै उनले सरकारले तत्काल आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
स्वास्थ्यमा पहुँच सबै नागरिकको अधिकार भएकाले ग्रामीण तथा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई प्रभावकारी र सुविधासम्पन्न बनाउन सरकार गम्भीर बन्नुपर्ने सांसद गुप्ताको माग छ।