साउन २७, २०८३ बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न पुनः ३० अर्ब रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरण बिक्रीमार्फत बैंकिङ प्रणालीबाट उक्त रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार बुधबार दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत निक्षेप उपकरण बिक्री गरिनेछ । यस उपकरणको परिपक्वता अवधि ३५ दिन तोकिएको छ भने सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ ३१ गते हुनेछ ।

उक्त उपकरणमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरू सहभागी भएर रकम लगानी गर्न सक्नेछन् । बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा त्यसलाई व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो उपकरणमार्फत रकम संकलन गर्दै आएको छ ।

राष्ट्र बैंकका अनुसार सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म निक्षेप उपकरण खरिद गर्न सक्नेछन् । खरिदका लागि तोकिएको रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसरी खरिद गरिएको निक्षेप उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।