साउन २७, २०८३ बुधबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेपाली शेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार परिसूचक नेप्से ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेको छ । मंगलबार पनि नेप्से ०.७९ अंकले उकालो लागेको थियो ।
यस्तै, ठूला तथा प्रभावशाली कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेर ४६३.६१ विन्दुमा पुगेको छ ।
बुधबार कुल ३४८ कम्पनीका ८७ लाख १ हजार ९४४ कित्ता शेयर किनबेच भएका छन् । दिनभर ४३ हजार ९९० पटक कारोबार हुँदा कुल कारोबार रकम ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ रुपैयाँ पुगेको छ ।
आज नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक सकारात्मक बनेका छन् भने बाँकी ८ उपसमूहमा गिरावट आएको छ ।
बढ्ने समूहमा वाणिज्य बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी र सामूहिक लगानी कोष रहेका छन् । वाणिज्य बैंक उपसमूह ०.७७ अंकले बढेर १४५५.४१ विन्दुमा पुगेको छ ।
यता, बजारमा सबैभन्दा ठूलो दबाब विकास बैंक समूहमा देखिएको छ । उक्त समूहको सूचक १२.६६ अंकले घटेर ५५७२.७३ विन्दुमा झरेको छ । जीवन बीमा समूह पनि १८.३१ अंकले घटेर ११७४७.५२ विन्दुमा पुगेको छ ।
त्यस्तै, निर्जीवन बीमा समूहको सूचक ५.४० अंकले घटेर १०५६१.३० विन्दुमा कायम भएको छ । जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार समूहका सूचक पनि ओरालो लागेका छन् ।
कारोबार भएका कम्पनीमध्ये माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड सर्वाधिक मूल्य बढ्ने कम्पनी बनेको छ । यसको विपरीत आईसीएफसी फाइनान्स ऋणपत्र २०८३ सर्वाधिक मूल्य घट्ने सूचीमा परेको छ ।
कारोबार रकमका आधारमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ ।
समग्रमा बुधबारको बजारमा उतारचढाव देखिए पनि नेप्से परिसूचक भने झिनो अंकले सकारात्मक रहँदै कारोबार बन्द भएको छ ।