अर्घाखाँची ११ भदौः रसुवास्थित भोटेकोशीमा गएको बाढीमा परी अर्घाखाँची जिल्लाबाट त्यस क्षेत्रमा काम गर्ने तथा घुम्ने सिलसिलामा रसुवा पुगेका नौ जना व्यक्ति सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीनको खोजी गरिदिन आफन्तबाट आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिनुभयो ।
जिल्लाको पाणिनी–३ धावा घर भई टिमुरेमा स्काभेटर चालकमा कार्यरत २९ वर्षीय प्रशान्त रेश्मी, सन्धिखर्क नगरपालिका–८ का २२ वर्षीय सुमित मल्ल ठकुरी, मालारानी गाउँपालिका –५ बाँगीका ४० वर्षीय नारायण पन्थी र भूमिकास्थान नगरपालिका–९ का मनिकला राना र काप्लेकी तारा राना सम्पर्कविहीन छन् ।
यसैगरी, शीतगङ्गा नगरपालिका–४ का इन्जिनियर सुबोध बेल्बासे, पाणिनी गाउँपालिका–७ नारायण थापा, भूमिकास्थान नगरपालिका–१० का लुकबहादुर क्षेत्री र भूमिकास्थान–८ कृष्णबहादुर श्रेष्ठ पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट काम तथा भ्रमणको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन रहेका लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
सम्पर्कविहीन त्यहाँस्थित जलविद्युत् आयोजना, निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए । केही सरकारी सेवामा कार्यरत तथा केही घुम्न रसुवा पुगेका व्यक्ति पनि बेपत्ता भएको जनाइएको छ ।
यसैबीच, मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । उहाँले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।