भदौ ११, २०८३ बिहिबार

बाजुरा, ११ भदौः रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि हालसम्म बाजुराका १३ जना सम्पर्कविहीन भएका छन् । 

जिल्लाका विभिन्न स्थानीय तहमा स्थायी ठेगाना भई त्यस क्षेत्रमा रहेका उनीहरु सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार हिमाली गाउँपालिकाका १९ वर्षीय दीपक रोकाया, ५० वर्षीया विष्णुमती रोकाया, ३५ वर्षीय आराम नेपाली, ३२ वर्षीय मोहनलाल रोकाया, विक्रम भण्डारी, ५५ वर्षीय बिसी पाण्डे र नेपाली सेनामा कार्यरत ४५ वर्षीय  दिपेश सार्की सम्पर्कविहीन छन् । 

यस्तै, स्वामीकार्तिक खापर गाउँपालिकाका ४० वर्षीय मनऋषि सञ्ज्याल, ३८ वर्षीया मनकला सञ्ज्याल, १८ वर्षीया सुस्मिता जोशी, ४६ वर्षीय वीरेन्द्र जैशी, ४४ वर्षीया सत्यादेवी जैशी र जगन्नाथ गाउँपालिकाका २९ वर्षीय मुकेश दमाई हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी पुडासैनीले बताउनुभयो ।

विभिन्न कामका लागि त्यस क्षेत्रमा पुग्नुभएका उहाँहरु अहिलेसम्म पनि सम्पर्कमा नआएपछि आफन्तहरु चिन्तित बनेका छन् भने खोजी कार्यका लागि सबैलाई अनुरोध गरिरहनुभएको छ ।