भदौ १२, २०८३ शुक्रबार

काठमाडौँ, १२ भदौः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले रसुवाको भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि सहयोग उपलब्ध गराउन आह्वान गर्नुभएको छ ।

नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नोे एक महिनाको पेन्सनबापतको रु ८७ हजार प्रदान गर्दै उहाँले दुःखको यस घडीमा प्रभावित परिवारको राहतमा सहयोग पुर्याउन सबैसँग आग्रह गर्नुभयो ।

पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “समाजका सबै तह र तप्काका नागरिकलाई प्रभावितको खोजी र उद्धारमा सहयोग गर्न अपिल गर्दछु ।” उहाँले बाढी प्रभावित परिवार र क्षेत्रको पुनःनिर्माणमा  हातेमालो गर्न स्वदेश र विदेशमा रहेका नेपाली तथा अन्तरराष्ट्रिय समुदायलाई अनुरोध गर्नुभएको छ ।

बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पूर्वअध्यक्ष रेग्मीले अझै केही सम्पर्कविहीन रहेको र विदेशी पर्यटकसमेत उक्त घटनामा परेकामा आफूलाई दुःखित तुल्याएको बताउनुभयो ।

उहाँले भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ  । पूर्वअध्यक्ष रेग्मीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।