भक्तपुर १२ भदौः भक्तपुरका किसानले आज बिहानै आ–आफ्नो खेतमा पुगेर भ्यागुताको पूजाआजा गरी भात खुवाएका छन् ।
जनैपूर्णिमाका दिन आज अधिकांश मानिस पूजाअर्चनाका लागि मठमन्दिरमा भिड लागिरहेका बेला यहाँका किसान भने बिहान सबेरै विभिन्न खानाका परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आ–आफ्ना खेततिर लागेको पाइयो ।
यहाँका किसानले ऐनाको कल्पना गरी गोलाकार बनाएर काटिएका मूलाका चानालाई सिन्काले उनेर हातले बटारी केही लाम्चो र डल्लो बनाइएको भातमा अड्याइएको थाली र नाङ्लो बोकेर खेततर्फ लम्किरहेका थिए ।
त्यसमा मालपुवा आकारका स–साना सेता रोटीसँगै क्वाँटीलगायत विभिन्न तरकारी र खानेकुरा एउटा ठूलो पातमाथि राखिएका थिए । त्यही पातलाई नाङ्लो वा किस्तीमाथि रक्षाबन्धनको धागो र सिन्दूरसमेत राखेर छेवैमा धुवाइरहेको सुगन्धित धूप बालिएको थियो । सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ, भ्यागुताको पूजा र भ्यागुतालाई भात ! तर यहाँका नेवार समुदायका किसानले सयौँ वर्षदेखि यो परम्परालाई जीवित राख्दै आएका छन् । आफ्ना खेतमा पुगेर आलीमा टुक्रुक्कबसी भ्यागुतालाई पाहुनाका रुपमा डाक्ने र ती परिकार खानका लागि छाडिदिने अनौठ प्रचलन छ ।
पूजाका लागि डाक्ने भ्यागुतो सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो त्यहीँ छाडिन्छ । साङ्केतिक रूपमा सिन्दुर पहि¥याइन्छ । अनि ऐनाका रुपमा किसानले भातमा गाडिएका मूलाका चाना देखाइ दिन्छन् । किसानले खेतमै छाडेर गएको परिकार भ्यागुता आएर खाने जनविश्वास छ ।
यो परम्परा देख्नेलाई अनौठो लागे पनि भक्तपुरका नेवार समुदायका लागि भने यो नौलो होइन । हरेक वर्षको जनैपूर्णिमाका दिन मनाइने यस पर्वलाई प्रकृतिसँग जोडेर भ्यागुताको पूजा गरिएको स्थानीय संस्कृतकर्मी प्रकाश धौभडेल बताउनुहुन्छ ।
भ्यागुताले पनि किसानका बालीनाली सपारिदिने हुँदा त्यसको गुन तिर्र्न भोज खुवाउने परम्परा सदियौँदेखि रहँदै आएको बताउनुहुन्छ । प्रत्येक खेतमा पूजा गर्ने चलन रहेकाले धेरैतिर खेत हुने यहाँका किसानलाई सबैतिर पुग्न आज भ्याइनभ्याइ हुन्छ ।
त्यस परम्परालाई स्थानीय नेपाल भाषामा ‘ब्यां चा जानका वानेगू’ भन्ने गरिएको पाइन्छ । नेपालभाषामा ‘ब्यां’ को अर्थ भ्यागुतो र ‘जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गले भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिएर सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउनुहुन्छ । भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गर्ने गरेको तथा भ्यागुतो उफ्रँदा बारीमा मल फिँजिने र बाली बिगारिदिने कीटाणु खाइदिएर किसानलाई गुनलगाउने हुँदा भ्यागुताको पूजा र भोज खुवाउने परम्परा रहँदै आएको उहाँ बताउनुहुन्छ ।
खेतमा काम गर्ने सिलसिलामा धेरै कीराफट्याङ्ग्रा मारिने हुँदा क्षमा माग्दै भ्यागुतालाई भात खुवाउने चलन रहेकोसमेत विश्वास गरिएको छ ।
“भ्यागुता हाम्रो समाजमा बैद्धिक कालमा भएको गुरुचेलाको परम्परा हो, गुरुले उच्चारण गर्ने र शिष्यले त्यसैलाई हुबहु उच्चारण गर्ने मौखिक शिक्षा प्रणाली पनि भ्यागुताबाट नै सुरु भएको मानिन्छ”, संस्कृतिविद् धौभडेल भन्नुहुन्छ, “यो परम्परा चल्नुमा प्रेरणाको स्रोत अर्थात् महान गुरु भ्यागुतो हो ।”
भ्यागुताबाटै नै पूर्वजले शैक्षिक विद्याको सुरुआत गरेको प्रमाण ऋकवेदको ‘मन्धुक रिचा’मा उल्लेख गरिएको बताउँदै उहाँ भन्नुहुन्छ, “त्यस आधारमा भ्यागुताबाट नै पठनपाठन परम्परमा सुरु भएको मान्न सकिन्छ ।” खेतमा भ्यागुतालाई खानेकुरा लिएर जानुअघि घरनजिक रहेको मन्दिरमा गएर पूजाआजा गरेको देखिन्थ्यो ।