काठमाडौँ, १२ भदौः रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये २२ जनाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याएका ४४ जनामध्ये आज २२ जनाको उपचार भइरहेको र बाँकी २१ जनाको ‘डिस्चार्ज’ गरिएको राससलाई जानकारी दिनुभयो ।
यस्तै, उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको छ । बाढीमा परेर गम्भीर घाइते भएका आठ जनाको आइसियुमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढार्इंले बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेको उपचारसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिने क्रम पनि जारी छ । घाइतेका आफन्तजन उपचाररत अस्पतालमा पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन् । यस क्रममा टिचिङ अस्पतालमा घुइँचो लागेको छ ।
बाढीमा परी घाइते तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले अस्पतालमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
बाढीबाट उद्धार गरिएका घाइतेको हातखुट्टा, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । केही घाइतेलाई सामान्यदेखि मध्यम प्रकृतिका चोटपटक लागेको र उनीहरूलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ भने घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याउने क्रम पनि जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिको पहिचान तथा अवस्थाबारे विवरण सङ्कलन गर्ने काम भइरहेको छ । उद्धार गरिएका तथा उपचारका लागि काठमाडौँ ल्याइएका व्यक्तिका आफन्तले सम्बन्धित अस्पतालमा स्थापना गरिएको नागरिक सहायता कक्षमार्फत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।
बाढीका कारण प्रभावित परिवार आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन अस्पताल तथा सहायता कक्षमा पुगिरहेका छन् । प्रहरीले विपद्का समयमा अपुष्ट सूचना तथा हल्लाको पछि नलागी आधिकारिक निकायबाट प्राप्त सूचना मात्र विश्वास गर्न आग्रह गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको कामलाई निरन्तरता दिइएको छ भने घाइतेको उपचारमा आवश्यक समन्वय भइरहेको सम्बन्धित निकायले जनाएको छ ।