काठमाडौँ, १३ भदौः छिमेकी मुलुकहरू भारत र चीनका सुरुङ उद्धार टोलीहरू भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङमा फसिरहेका व्यक्तिको उद्धारमा खटिइ काम सुरु गरेका छन् ।
रसुवालगायत क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि प्रभावित क्षेत्रका कतिपय जलविद्युत् आयोजनाका सुरुङमा अझै कैयौँ व्यक्ति फसेका र नेपाली सुरक्षाकर्मीले उद्धार जारी राखेकाबेला दुवै छिमेकी मुलुकका सुरुङ उद्धार टोलीहरू आजै नेपाल आइपुगेका हुन् ।
भारतबाट आज बिहान सहायता सामग्री तथा ११ सदस्यीय चिकित्सा र सुरुङ उद्धार टोलीसहितको उडान काठमाडौँ अवतरण गरी प्रभावित क्षेत्रमा खटिएको हो । त्यस्तै चीनबाट पनि सुरुङ उद्धार विशेषज्ञहरू अपराह्न नेपाल पुगी बाढी प्रभावित क्षेत्रमा खटिइसकेका छन् ।
नेपाल सरकारले आजै उद्धार कार्य जारी रहेकाले सुरुङभित्र फसेका व्यक्तिहरूलाई बाहिर निकाल्ने, प्रभावित क्षेत्रमा जीवित व्यक्तिहरूको स्थान पत्ता लगाउन सहयोग गर्ने प्रविधि सहयोगका लागि मित्रराष्ट्रहरूसँग अनुरोध गरिएको जनाएको थियो ।
दुवै छिमेकी मुलुकले नेपालमा आइपर्ने यस्तै ठूला विपद्मा तत्काल सक्दो सहयोग गर्दै आएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी आएकै दिन यही भदौ १० गते प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन कुराकानीमा नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै, चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालमा बुधबार आएको भीषण पहिरोका कारण भएको विपत्तिप्रति समवेदना सन्देश पठाउनुभएको थियो ।
आवश्यक सहयोगका लागि मित्रराष्ट्रहरूसँग अनुरोध गरिएको छ : मन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयमा आज आयोजित प्रेस ब्रिफिङमा उद्धार कार्य जारी रहेकाले सुरुङभित्र फसेका व्यक्तिहरूलाई बाहिर निकाल्ने, प्रभावित क्षेत्रमा जीवित व्यक्तिहरूको स्थान पत्ता लगाउन सहयोग गर्ने प्रविधि सहयोगका लागि मित्रराष्ट्रहरूसँग अनुरोध गरिएको बताउनुभएको थियो ।
त्यस्तै, शीघ्र फरेन्सिक तथा डिएनए परीक्षण र शव राख्नका लागि शवगृहजस्ता क्षेत्रमा नेपालको खोज तथा उद्धार प्रयासलाई थप सुदृढ गर्नसक्ने विशिष्ट तथा विशेषज्ञ सहयोगका लागि मित्रराष्ट्रहरूसँग अनुरोध गरिएको उहाँको भनाइ थियो ।
मन्त्री खनालले बाढी विनाशको स्तर अत्यन्त ठूलो रहेको र उद्धार तथा राहतको चरणमा मात्र होइन, अझ बढी पुनर्निर्माणको चरणमा अन्तरराष्ट्रिय सहयोग तथा सहायता आवश्यक रहेको दाहोर्याउनुभयो ।
साथै, उहाँले नेपालले अन्तरराष्ट्रिय सहायता तथा सहयोग अस्वीकार गरेको भन्ने केही गलत समाचार राष्ट्रिय तथा विदेशी सञ्चारमाध्यममा प्रसारित भएको उल्लेख गर्दै त्यसको खण्डनसमेत गर्नुभयो ।
सो अवसरमा उहाँले भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भइसकेको र चीन, जापान, अस्ट्रेलिया तथा अन्य मित्रराष्ट्रहरूबाट पनि आजै अत्यावश्यक सामग्री प्राप्त भइरहेको उल्लेख गर्नुभयो । राहत कार्य जारी रहँदा थप मूल्याङ्कन गरिने र आवश्यकताअनुसार थप सहायता तथा सहयोगका छिमेकी तथा अन्तरराष्ट्रिय साझेदारहरूसँग सम्पर्क गर्ने उहाँको भनाइ थियो ।
परराष्ट्रमन्त्री शिशिर खनालले पछिल्लो खोज, उद्धार, राहत कार्यलगायत अन्य विषयमा जानकारी गराउँदै हालसम्म प्रभावित क्षेत्रबाट ६२६ जनाको शव फेला परेका र करिब दुई हजार ४०० जना अझै सम्पर्कविहीन रहेको जानकारी दिनुभयो ।
त्यस्तै, प्रभावित क्षेत्रबाट चार हजार ४५१ जनाभन्दा बढीको उद्धार गरिएको र त्यसमा १५२ जनाभन्दा बढी विदेशी नागरिक रहेका छन् । मन्त्री खनालले नेपाल सरकार निकट छिमेकी तथा अन्तरराष्ट्रिय समुदायसँग निकट सम्पर्क र समन्वयमा रहेको बताउँदै धेरै विदेशी नागरिक पनि बेपत्ता भएकाले मन्त्रालयमा छुट्टै आपतकालीन नियन्त्रण कक्ष स्थापना गरिएको जानकारी गराउनुभयो ।