कात्तिक २८, २०७८ आइतबार

साङ्केतिक तस्बिर

हाल १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सुरु गरेको जनगणनाका लागि देशभर ३६ हजार गणकहरू र ८ हजार ५ सय सुपरिवेक्षकहरू सहभागी भएका छन् । घरघरमा गणक खटिएका छन् । गणकहरू घरदैलामा आइ तथ्याङ्क सङ्कलन गरिरहँदा कतिपय व्यक्ति तथा संस्थाहरूले केही समुदायलाई अमुक भाषा र अमुक धर्म लेख्नका लागि निर्देशन गरेको प्रमाण छ्याप्छ्याप्ती फेला पर्दा धर्म र भाषाका बारेमा ठूलो षडयन्त्र भइरहेको देखिँदै छ ।

मैले आमाको काखमा डोटेली बोल्न सिकेको हो, त्यसकारण मेरो मातृभाषा डोटेली नै हो । यस्तै मेरो पुर्खाले पनि डोटेली भाषा नै बोल्दै आएका हुनाले मेरो पुर्खाको भाषा पनि डोटेली नै हुने भयो । तर मेरो गाउँमा हामी एकै ठाउँका मान्छे छँदै छैनौँ; पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी-जनजाती मतवाली मूलका जाति पनि बसेका छन् भने राना-थारूको पनि बाक्लै बस्ती रहेको छ । हामीहरू एक अर्कासँग नेपाली भाषामा कुराकानी गर्छौँ । यसकारण दोस्रो भाषा भनेको नेपाली भयो । तर उनीहरूले हामीले बोल्ने डोटेली भाषा नबुझ्ने र हामीले उनीहरूले बोल्ने राना-थारू र तामाङ भाषा नबुझ्ने भन्ने होइन; हामीहरू एकअर्काको भाषा बुझ्दछौँ तर सम्पर्कको भाषा चाहिँ नेपाली प्रयोग गर्दछौँ । यसकारण सम्पर्क भाषा/दोस्रो भाषा भनेको नेपाली भयो । तर कतिपय संस्थाहरूले आदिवासी-जनजाति समुदायलाई जनगणनाको महलमा सम्पर्कको भाषामा नेपाली नलेखी अङ्ग्रेजी, हिन्दी वा अन्य कुनै भाषा लेख्न दबाब दिइरहेको देखिन्छ । यसरी उनीहरू बदनियतपूर्ण तवरले अभियान नै सञ्चालन गरी नेपाली भाषालाई अल्पसङ्ख्यकको भाषा बनाउन सक्रिय भइसकेका छन् । उनीहरूको उद्देश्य भनेको नेपाली भाषाका ठाउँमा अङ्गेजीलाई या हिन्दीलाई स्थापित गराउने नै हो । यसकारण यदि भेटघाट र कुराकानी हुँदा नेपाली नै बोल्नुहुन्छ भने सम्पर्क भाषामा नेपाली नै लेख्नुपर्छ ।


यसैगरी जनगणनामा धर्मको महलमा के लेख्ने भनेर केही समयअघिदेखि नेपालको हित भएको देख्न नचाहने केही व्यक्ति र संस्थाहरू निकै सक्रिय रहँद‌ै आएका छन् । उनीहरूले मष्टोलाई धर्म हो भन्दै भ्रम छर्दै आएका छन् । सनातनीहरूको सङ्ख्या घटाउन उनीहरू काम गरिरहेका छन् । यो बदनियतपूर्ण कुचेष्टामा प्रष्ट देखिन्छ कि ती सङ्गठनहरू पूर्वाग्रही ढङ्गले हिन्दूविरुद्ध लागेका छन् । यसकारण धर्मका विषयमा पनि प्रष्ट हुनुपर्ने देखिन्छ । सनातन परिवारमा तोडमोड गरी सनातनीको सङ्ख्या घटाउने ठूलो षडयन्त्र भइरहेको छ भने यसैबीचमा भित्रभित्रै इसाईको सङ्ख्या बढाउन ठूलै रकम खर्च गरेका उनीहरूद्वारा तथ्याङ्कमा भने सो सङ्ख्या लुकाउने प्रयत्न पनि भइरहेको छ । यसले भविष्यमा नेपालको हित हुनेछैन । यसकारण हामीले विचार पुर्‍याउनुपर्ने भएको छ । ✍️ सवितु: