काठमाण्डौ।
नुवाकोटको लिखु गाउँपालिका ६ छहरे बजारमा यही फागुन १४ देखि २२ गतेसम्म प्रथम ‘छहरे महोत्सव तथा व्यापार मेला २०७७’ हुने भएको छ ।
ज्योती फिल्मस् प्रोडक्सनको संयोजनामा आयोजित महोत्सवमा स्थानीय कला, प्रतिभालगायत विविध क्षेत्रका कलाकारहरुको पहिचान तथा स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्ने लक्ष्य रहेको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा स्थानीय कृषि सामग्री, धार्मिक तथा पर्यटकीय स्थानको प्रवर्द्धन तथा प्रचारप्रसार गरिने छ ।
त्यस्तै स्थानीय झाकी, लाखे नाच, धामी नाच, धिमे नाच, लोक दोहोरी, खैचडी भजनको समेत मेलाको आकर्षण रहने जनाइएको छ । झण्डै २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ ।
दुई सय भन्दा बढी स्टल रहने महोत्सवको कुल ४८ लाख ५० हजार रपैयाँ आम्दानी र ४७ लाख ९५ हजार रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएको छ ।
महोत्सवको सहआयोजकमा जिल्ला समन्वय समिति, नुवाकोटका १२ वटै स्थानीय तह तथा संगीतकर्मी, कलाकर्मी, होटेल तथा यातायात व्यवसाय समिति रहेका छन् ।