भदौ १७, २०८३ बुधबार

बाँके, १७ भदौः बाँकेमा छ हजार किशोरीलाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियानअन्तर्गत आगामी भदौ ३० गतेदेखि खोप लगाउन सुरु गरिने स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले जानकारी दिनुभयो । 

    उहाँका अनुसार खोप अभियानको सुरुआत जिल्लाका सबै स्थानीय तहका विद्यालयबाट गरिनेछ । विशेषगरी, कक्षा ६ मा अध्ययनरत किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइनेछ । त्यसपछि समुदायस्तरका १० वर्षीया किशोरीलाई खोप लगाइने पौडेलको भनाइ छ ।

    बैठकमा खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, विद्यालय तथा सम्बन्धित स्वास्थ्य संस्थाबीच समन्वय गरी आवश्यक तयारी गर्ने सम्बन्धमा छलफल भएको छ । बाँकेमा आठ स्थानीय तहमा खोप अभियान सञ्चालन हुनेछ । 

    पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाउने गरिन्छ । एचपिभी भाइरसले पाठेघरको मुखको क्यान्सर गराउन सक्छन् । किशोरी अवस्थामा नै खोप लगाउँदा राम्रो सुरक्षा प्राप्त हुने बताइएको छ ।  

    क्यान्सरको रोकथामका लागि दिइने यो खोप एक पटक मात्रै लगाइन्छ । जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा आज बसेको बैठकले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।